
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले पनि अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज नेता गैरेले पनि ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमा धारणा राख्दै उनले नेतृत्व हस्तान्तरण गरेर जान अनुरोध गरेका हुन् ।
‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ । कम्युनिस्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकालौँ। हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौँ, हामीसँग ठोस निर्णय थिएन,’ उनले भनेका छन्, ‘वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम–लोकतान्त्रिक सरकार पनि ढल्यो, यस्तो समयमा पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा बुझ्नहुन्न। म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔँ भन्ने अनुरोध गर्दछु ।’
जेनजी आन्दोलनपछि एमालेमा एकपछि अर्को गर्दै नेताहरुले अध्यक्ष ओलीको राजीनामा मागेका छन् । यसअघि केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पनि ओलीको राजीनामा मागेकी थिइन् । उनले जेनजी आन्दोलनको एउटा मुख्य माग पार्टीहरूको पुनर्गठन पनि भएकाले एमालेमा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेकी हुन्।














