काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको एकमात्र उद्देश्य आगामी छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्नु रहेको स्पष्ट पारेकी छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा नेपालस्थित कूटनीतिक निकायहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कार्कीले सरकार निर्वाचनको तयारीमा पूर्ण रूपले केन्द्रित रहेको जानकारी दिइन् । उनका अनुसार सरकारले निर्वाचन आयोगलाई सशक्त बनाउँदै छ, सुरक्षात्मक संरचना सुधार गर्दैछ, आवश्यक कानुनी र व्यवस्थापकीय तयारीहरू गर्दैछ र सबै सरोकारवालासँग संवाद गरिरहेको छ।
उनले बाह्य मतदानको सम्भाव्यता अध्ययन भइरहेको र अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरूलाई स्वागत गर्ने नीति अपनाइएको बताइन् । हालैको जेनजी आन्दोलनले राज्य संयन्त्रको कमजोरी उजागर गरेको उल्लेख गर्दै उहाँले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति जनताको तीव्र चाहना स्पष्ट भएको बताइन्।
आन्दोलनका क्रममा क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माणका लागि विशेष कोष स्थापना गरिएको र हराएका हतियार तथा उपकरणहरू फिर्ता ल्याउने काम तीव्र रूपमा भइरहेको जानकारी दिँदै, प्रधानमन्त्री कार्कीले सरकार भ्रष्टाचार नियन्त्रण, बजेट पारदर्शिता, ‘हेलो सरकार’ प्रणाली सशक्तीकरण र निजी क्षेत्रमार्फत आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित रहेको बताइन । उनले जेनेरेसन–जेडप्रति आशावादी हुँदै उनीहरूको ऊर्जा र राजनीतिक चेतनाले लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्ने विश्वास व्यक्त गरीन्।
साथै, नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील सिद्धान्त र अन्तरराष्ट्रिय कानुनमा आधारित रहेको उल्लेख गर्दै उहाँले नेपाल अब अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुने दिशामा अघि बढिरहेको जानकारी दिइन्।
भिसा कडाइका कारण प्रभावित विप्रेषण प्रवाह र आर्थिक दबाब सम्बोधन गर्न श्रम कूटनीति सुदृढ बनाउने तयारी भइरहेको भन्दै उनले देश अब लोकतान्त्रिक स्थायित्व, सुशासन र आर्थिक पुनरुत्थानको यात्रामा अघि बढिरहेको सन्देश विश्वसमुदायमा फैलाउन आग्रह गरेकी छन्।














