Logo
Logo

मतदाता नामावली दर्ताका लागि कांग्रेसको परिपत्र


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी मतदाता नामावली दर्ता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन देशभरका पार्टी निकायहरूलाई परिपत्र जारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयले पठाएको परिपत्रमा कात्तिक ३० गतेसम्म सबै योग्य नेपाली नागरिकलाई मतदाता नामावलीमा दर्ता गराउन पहल गर्न निर्देशन दिइएको छ ।

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर गरेको परिपत्रमा केन्द्रीय समितिको बैठकले नयाँ राजनीतिक परिस्थितिमा उपयुक्त निर्णय लिने उल्लेख गर्दै निर्वाचन आयोगको सूचनालाई ध्यानमा राखेर मतदाता दर्ता अभियानलाई तीव्रता दिनु अहिलेको प्रमुख आवश्यकता रहेको जनाइएको छ ।

परिपत्रअनुसार छठ पर्व सकिएलगत्तै प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न जिल्लामा ‘सम्पूर्ण ध्यान स् मतदाता दर्ता अभियान’ मा केन्द्रित हुन प्रतिनिधिका रूपमा जिम्मेवारी तोकिनेछ । जिल्ला कार्यसमिति तथा मातहतका सबै तहका समितिहरूलाई अन्य सबै कार्य तत्कालका लागि स्थगित गरी मतदाता दर्ता अभियानमा पूर्ण रूपमा केन्द्रित हुन निर्देशन दिइएको छ ।

महामन्त्रीद्वयले प्रदेश संसदीय दलका सबै सदस्यहरूलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा रहेर मतदाता दर्ता अभियानलाई व्यापक बनाउन परिचालन गरिने उल्लेख गरेका छन् । नागरिकता नबनेका युवाहरूले एकै दिन नागरिकता लिएर मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधाबारे सबैलाई स्पष्ट जानकारी दिन समितिहरूलाई निर्देशित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्