काठमाडौं । युवा संगीतकार तथा गीतकार पवन बान्तावा राईको शब्दरचना र संगीत रहेको ‘घोरेटार बजार’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेशपायल राई र चर्चित गायिका सुनिता थेगिमले स्वर दिएका छन् । सुनिता थेगिम पछिल्लो समय रुचाइएकी गायिका हुन् ।

संगीतकार पवनले यस ‘घोरेटार बजार’ बोलको गीतलाई पूर्वेली लोक भाकामा तयार गरेका छन् । यस गीतको भिडियोलाई राजेश पूमा राईले निर्देशन गरेका हुन् । निर्देशक राईले गीतको मर्म र भावनाअनुरुप भिडियो तयार गरेका छन् ।
राजेशपायल र सुनिताको स्वर तथा अहिलेकी चर्चित मोडल एलिशा राई र एलिश राईको अभिनयले ‘घोरेटार बजार’ थप उत्कृष्ट बनेको छ । जसले गीतकार एवं संगीतकार पवन बान्तावा राईको सांगीतिक करिअरमा इँटा थप्ने काम भएको छ ।
पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा चर्चा बटुल्दै आएका पवनका यसअघिका सिर्जनाहरु पनि दर्शक तथा श्रोताले रुचाएका छन् । यस्तै, ‘घोरेटार बजार’ले यतिखेर पवनलाई थप चर्चामा ल्याएको छ ।
अनामनगरस्थित स्टुडियो किङमा रेकर्ड गरिएको ‘घोरेटार बजार’ बोलको यस गीतको एरेन्ज मनोज साम्सोङ राईले गरेका हुन् । राजु कार्कीको मिक्सिङ गरेको यस गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । यस भिडियोका लागि कोरियोग्राफी रोशन विश्वकर्मा र छायाँकन हरि हुमागाइँले गरेका छन् । यस भिडियोको निर्माण गान्दिप राईले गरेको हुन् ।











