
काठमाडौं । विवादित छविका खगेन्द्र सुनारलाई मन्त्री बनाउन लागेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना भइरहेको छ । प्रधानमन्त्री कार्कीले मन्त्री बनाउनेहरुको लिष्टमा खगेन्द्रको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेपछि सरकारको तीव्र आलोचना भइरहेको हो ।
खगेन्द्रलाई चिन्नेहरूले उनीविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक गर्दै सरकारको आलोचना गरिरहेका छन् ।
उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले ०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यस्तै उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यी दुवै मुद्दा फस्र्यौट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा रहेको प्रहरी स्रोत बताउँछ ।
खगेन्द्रविरुद्ध यता सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत रहेको पाइएको छ । नवराज विक हत्या प्रकरणको मुद्दाका विषयलाई लिएर उच्च अदालत सुर्खेतको बाहिर वितण्डा मच्याएपछि खगृेन्द्रविरुद्ध अधिवक्ता मनिषा गौतमले अदालतको अवहेलनाको मुद्दा सर्वोच्चमा दायर गरेकी थिइन् ।
त्यसपछि खगेन्द्रले अपशब्द प्रयोग गर्दै गौतमविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । उनले अधिवक्ता गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै लेखेको फेसबुक स्टाटसको स्क्रिनसट पनि अहिले भाइरल भइरहेको छ ।














