काठमाडौं । प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (ह्यात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलन क्रममा होटलमा ठूलो क्षति भएको पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ ।

आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग प्रदान गरिने भनी दिइएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा होटलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्प सहित सञ्चालन हुने विज्ञप्तिमा भनिएको छ ।
‘आन्दोलन क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, ब्यांक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको होटलले जनाएको छ । क्षतिको पूर्ण मूल्यांकनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनस् सञ्चालनमा ल्याउने प्रतिबद्धता होटलले जनाएको छ ।
‘होटल पछिल्ला साढे दुई दशकमा नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ, यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्दै वर्षौदेखि हजारौँ व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छौँ,’ होटलले भनेको छ ।














