
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।
जेनजी आन्दोलनका क्रममा शरीरमा आगो लागेकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका निम्ति डेढ महिनादेखि दिल्लीमा रहँदै आएका पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल सोमबार बेलुकी काठमाडौं आएका हुन् ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार बुधवारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा भाग लिन उनी काठमाडौं आएका हुन् ।
नेकपा एसले बुधवारदेखि शुक्रवारसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्युमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपासहितका वामपन्थी घटकबीच गर्ने एकताबारे विमर्श गरिने भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल समूहको अग्रसरतामा हुन लागेको भनिएको एकताको औचित्य र सान्दर्भिकतामाथि पार्टीका नेताहरूले प्रश्न उठाउँदै आएका छन् ।
सम्मानित नेता खनालले दिल्लीबाटै विज्ञप्ति जारी गरेर एकतामा नजाने अभिव्यक्ति दिइसकेका छन् भने महासचिव घनश्याम भुसालले पनि एकता ‘किन र केका लागि ?’ भन्ने प्रश्न उठाएका छन् ।










