काठमाडौं । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गर्ने भएको छ । गत आइतबार बसेको सबै न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट) ले प्रहरीमा जाहेरी दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले जाहेरी लेख्ने काम भइरहेको छ, भोलिसम्ममा जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता हुने जनाएको छ । सर्वोच्च अदालतकाले अनुसन्धानबाट संलग्नहरूलाई पहिचान गरी कारबाही गरोस् भन्नका लागि जाहेरी दिन लागेको हो ।
आइतबारको फूल कोर्ट बैठकले सर्वोच्चसहित देशभरका अदालतमा आगजनी र क्षति गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन उपचार खोज्ने निर्णय गरेको थियो । जाहेरी दर्ता प्रक्रियामा न्यायाधीशहरू नभई सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू संलग्न हुनेछन् । मुख्य रजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट जाहेरी पेश गरिने जनाइएको छ ।
जेनजी आन्दोलनमा भएको दमनको भोलिपल्ट देशव्यापी रूपमा भएको तोडफोड र आगजनीका कारण रामशाहपथस्थित सर्वोच्च अदालत पूर्ण रूपमा ध्वस्त भएको थियो । करिब तीन दिनसम्म चलेको आगलागीले विचाराधीन करिब २० हजार मुद्दाका फाइल जलेका छन् भने फैसला भइसकेका १ लाख ९७ हजार फाइल नष्ट भएका छन् ।
आगजनीमा न्यायाधीश र कर्मचारीले प्रयोग गर्ने ५० भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन पूर्ण रूपमा जलेर खरानी भएका छन् । सर्वोच्च अदालतले देशभरका अन्य अदालतमा भएको आगजनी र तोडफोडमा संलग्नहरूमाथि पनि कारबाही माग गर्दै जाहेरीमा विवरण समावेश गर्ने तयारी गरेको छ । काठमाडौंमा सर्वोच्चसँगै विशेष अदालत र जिल्ला अदालत पनि आगजनीबाट क्षतिग्रस्त भएका छन् ।










