Logo
Logo

केन्द्रीय सदस्य थपिएकोमा रामकुमारी झाँक्रीको आक्रोश- के आधारमा छानियो ?


1.6k
Shares

काठमाडौं । नेकपा एसकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी केन्द्रीय सदस्यमा नाम थप्ने र अनुमोदन गराउने विधिमाथि प्रश्न उठाएकी छन् ।

धुम्बाराही, सुकेधारामा जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुपूर्व मनोनीत गरिएका ८८ केन्द्रीय सदस्यको नाम प्रस्तुत भएपछि झाँक्रीले आपत्ति जनाएकी हुन् ।

माओवादी केन्द्रसँग गरिने एकता प्रस्तावलाई ‘सर्वसम्मतले’ अनुमोदन गर्नका निम्ति अध्यक्ष नेपाल पक्षले एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको आरोप अर्को पक्षले लगाउँदै आएको थियो ।

बैठकमा कम्प्युटर टाइप गरेर ७५ जनाको नाम पेश भएको छ । बैठक शुरू हुनु केही समयअगाडि कागजमा टिपोट गरिएकासमेत गरी जम्मा ८८ जना केन्द्रीय सदस्यमा मनोनीत भएको भन्दै आलोचना भएको छ ।

झाँक्रीले मनोमानीपूर्ण मनोनयनका बारेमा पार्टी जवाफ दिनुपर्ने र त्यसपछिमात्रै बैठक अगाडि बढ्न सक्ने चेतावनी दिइन् । उनको चेतावनीपछि संगठन विभागका प्रमुख तथा पार्टीका वरिष्ठ नेता डा. बेदुराम भुसालले एकता प्रक्रिया, ४० वर्ष उमेर समूह र प्रदेशगत रुपमा खुला तर्फ मनोनीत गर्नुपर्ने केन्द्रीय सदस्यको नाम पेश भएको बताए ।

भुसालको जवाफपछि अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पेश गर्न अनुमति दिने र अरु छलफल बैठकका क्रममा गर्दै जाने भनिएपछि बैठक सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्