Logo
Logo

जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयो : शंकर पोखरेल


0
Shares

देउखुरी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य नभएकाले निष्पक्ष छानबिन गरी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे ।

‘जेनजी प्रदर्शनका क्रममा उठाइएका माग जायज छन् । युवाको मागलाई सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी छ । सुशासन र भ्रष्टाचारविरुद्धको माग राख्दै गरिएको प्रदर्शनमा स्वार्थी तत्वले घुसपैठ गरेर इतिहास मेटाउने प्रयास गरियो’, उनले भने, ‘युवाको आकाङ्क्षा बुझेर मुलुकमा सुशासन कायम गरी कानुनी राज्य स्थापनामा सबैको सहकार्य र समन्वय आवश्यक छ ।’

जेनजी प्रदर्शन दबाउन प्रहरी र न्यायालयको कुनै भूमिका नभएको उनले धारणा राखे । न्याय प्रणालीलाई कमजोर बनाएर देशलाई कमजोर बनाउन खोजिएको उनको भनाइ छ ।

प्रदर्शनका नाममा प्रहरीका हतियार लुटिनुका साथै कैदीबन्दी बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले आमनागरिकमा भय र त्रास फैलाएको बताए । उनले भने, ‘स्थानीय तह, मातपोत, अदालत, यातायात, राजस्व कार्यालयलगायत सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ । गत भदौ २३ र २४ गतेको घटनाको छानबिन तटस्थ र निष्पक्ष ढङ्गले गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्