काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको सुरक्षा निकाय तत्कालीन सरकारबाट अलग भएपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको बताएका छन् ।

बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘राज्य भनेको केवल सरकार होइन, सुरक्षा अंगसहितको संयन्त्र हो । अखिर हामीले बुझ्ने राज्य त यही हो । यदि व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र सुरक्षा निकायबीच समन्वय टुट्यो भने के त्यो राज्य चल्न सक्छ ?’
उनले अगाडी भने, ‘भदौ २४ गतेको घटनामा नेपालको सुरक्षा निकाय तत्कालीन सरकारबाट अलग भएपछि नै सत्ता परिवर्तन भयो ।’
तर, सुरक्षा निकायले ‘क्षति कम गर्नका लागि यस्तो कदम चाल्नुपर्यो’ भन्ने व्याख्या गरेको भन्दै पोखरेलले त्यसमा असहमति जनाए । ‘मानवीय क्षति कम भयो भन्ने मान्ने हो भने २३ गतेभन्दा २४ गते धेरै मान्छे मरे । सम्पदामाथिको क्षति त अकल्पनीय छ,’ उनले भने ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो । त्यसपछि प्रतिनिधिसभाबाट नयाँ सरकार बन्ने अवस्था नबच्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन मिति तोकेका छन् ।
जेनजी आन्दोलन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटन र आगामी राजनीतिक कदमबारे धारणा सार्वजनिक गर्न महासचिव पोखरेलले दाङमा पत्रकार सम्मेलन गरेका थिए । त्यही अवसरमा उनले सुरक्षा निकाय सरकारबाट अलग भएपछि सत्ता परिवर्तन भएको टिप्पणी गरेका हुन् ।














