सुर्खेत । हालैको हिमपातपछि डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्तीमा कठिनाइ बढेको छ । कात्तिक लागेसँगै चिसो र हिमपात सुरु भएपछि निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र कर्मचारीलाई दुर्गम भूगोल र कठ्याङ्ग्रिने मौसमले समस्या थपेको हो ।

निकुञ्जका उच्च भाग वर्षभरि चिसो रहने भएकाले यहाँका सुरक्षाकर्मीले छ महिना माथिल्लो भाग र बाँकी समय सुलिगाड क्षेत्रमा बस्ने गरेका छन् । यसपालि हिमपात चाँडै भएकाले फोक्सुण्डो ताल नजिकै उद्धार तथा सुरक्षा कार्यमा सेना तैनाथ रहेको छ ।
२५ गाउँ समेटिएको यो राष्ट्रिय निकुञ्ज देशकै सबैभन्दा ठूलो हो । यहाँ हिउँचितुवाको सबैभन्दा बढी घनत्व पाइन्छ । निकुञ्जभित्र रहेका वन्यजन्तु र जडीबुटीको चोरी–निकासी रोक्न चिसो मौसममा विशेष संयन्त्र परिचालन गरिएको छ ।
तर स्थानीय वडाध्यक्ष निमा लामाको आरोपमा निकुञ्जका पोस्टहरू प्रायः खाली छन् । “वर्षमा दुई पटक मात्रै देखिएर सुरक्षा हुँदैन,” उहाँले भन्नुभयो । निकुञ्जको मुख्य कार्यालय कोर एरियाबाहिर सुलिगाडमा रहेको हुँदा सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ ।
निकुञ्ज संरक्षण अधिकृत नुरेन्द्र आर्यालका अनुसार तस्करी पछिल्ला वर्षमा केही घटेको भए पनि हेलिकप्टरमार्फत अनुमतिविना प्रवेश र जडीबुटी चोरीको जोखिम कायमै छ ।
द्वन्द्वकालअघि निकुञ्जको कार्यालय फोक्सुण्डो गाविसस्थित पलममा थियो । त्यसबेला सुरक्षाको समन्वय सहज र प्रभावकारी थियो । तर द्वन्द्वपछि कार्यालय सुलिगाडमा सर्दै संरक्षण कमजोर भएको स्थानीयवासीको भनाइ छ ।
निकुञ्जको भू–भाग समुद्र सतहबाट २,२५० देखि ६,८८३ मिटर उचाइमा फैलिएको छ । यहाँ हिउँचितुवा, तिब्बती खरायो, चिरु, नाउर, कस्तुरी, हिमाली भालु लगायत दुर्लभ वन्यजन्तु पाइन्छन् । जटामसी, यार्सागुम्बा, पाँचऔँले जस्ता बहुमूल्य जडीबुटी पनि यस क्षेत्रमा पाइन्छन् ।
फोक्सुण्डो ताल, फोक्सुण्डो झरना, शे गुम्बा र त्रिपुरासुन्दरी मन्दिर यस क्षेत्रका प्रमुख आकर्षण हुन् । फोक्सुण्डो ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत छ, र ११औँ शताब्दीको शे गुम्बा तिब्बती बौद्ध धर्म अध्ययनको केन्द्र हो ।
निकुञ्जमा ७,००० मिटरभन्दा अग्ला काञ्जीरोवा दक्षिण, सिकाल्पो खाङ र वेज चुचुरो लगायत हिमशिखर छन् । डाँफे, मोनाल, चिरसहित २०० प्रजाति पन्छी, ६ प्रजाति सरिसृप र ३२ प्रजाति पुतलीले जैविक विविधतालाई समृद्ध बनाएका छन् ।
अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण बढ्दो रहे पनि सूचना–संकेत प्रणाली र पदमार्ग जीर्ण हुँदा भ्रमणमा कठिनाइ हुन्छ । निकुञ्जमा वार्षिक करोडौँ बजेट भए पनि संरचना विकास सुस्त छ ।
चीनको तिब्बतसँग जोडिएको खुला सिमानाले चोरी–निकासी र अनधिकृत आवतजावतको खतरा बढाएको प्रदेशसभा सदस्य वीरबहादुर शाही बताउँछन् । उपल्लो डोल्पाका तीन पालिकामा सिमासुरक्षाको व्यवस्था माग भइरहे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
वर्षमा एकपटक मात्र औपचारिक रूपमा हाटबजारका लागि सीमा खुला गरिने भए पनि अधिकांश समय नाकामा जाँचचौकी नहुँदा सिमाना खुलै रहने गरेको छ । यसले राष्ट्रिय निकुञ्जको सुरक्षामा थप चुनौती सिर्जना गरेको स्थानीयको बुझाइ छ ।














