Logo
Logo

सप्तरीका थप एक संक्रमितको मृत्यु


- दृष्टि न्युज/संवाददाता


सप्तरी, १४ असोज । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ ।
मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी दिए ।
बालकैदेखि मधुमेहबाट पीडित उनको आठ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो । गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएको थियो । खर्चविहीन भएर अस्पतालबाट घर फर्किएका उनलाई अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का वडाध्यक्ष तेजनारायण यादवले रु १५ हजार दिएर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्