Logo
Logo

प्रहरी अस्पतालमा सार्वसाधारणलाई निःशुल्क उपचार


- दृष्टि न्युज/संवाददाता

0
Shares

राजविराज, २२ असोज । प्रदेश २ अन्र्तगत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । यो अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्ष्य राखिएपनि अहिले सर्वसाधारणको समेत उपचार गर्न थालिएको हो ।
सर्वसाधारणको उपचार निःशुल्क भइरहेको अस्पतालका प्रमुख प्रहरी नायव उपरिक्षक डा. सुरेन्द्र साहले जानकारी दिए । राजविराज नगरपालिका–३ निवासी जग्गादाता जोगेन्द्र भगत र उनकी पत्नीले आफ्नै जग्गामा २५ बेडको अस्पताल निर्माण गरिदिएका थिए । तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले २०७३ साल माघ ३ गते सो अस्पतालको उद्घाटन गरेका थिए ।
अहिले प्रहरीका साथै सर्वसाधारणको उपचारसमेत यो अस्पतालले गर्न थालेपछि यहाँका जनता खुशी भएको स्थानीय नर्मदेव यादवको भनाइ छ । प्रत्येक दिन १२ देखि १५ सर्वसाधारणको उपचार थालिएको प्रमुख डीएसपी डा. साहले बताए ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । जनरलमा नाक, कान, घाँटी, छाती, पेटसम्बन्धी रोगको उपचारसमेत भइरहेको अस्पताल प्रमुख डा साहले बताए ।
अस्पतालको आफ्नै ल्याब, डिजिटिल एक्सरे, भिडियो एक्सरे रहेको छ । डेन्टल विभाग छुट्टै रहने बताउँदै रगतको हरेक किसिमको जाँच यहाँ हुने गरेको उनको भनाइ छ । अस्पतालमा एक जनरल फिजिसियन, एक विशेषज्ञ, दुई स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अहेब कार्यरत छन् । अस्पतालमा दश सुरक्षाकर्मीले काम गर्दै आएका छन् । यसबाहेक दुई जना दन्त विभागका टेक्निसियन पनि छन् ।

प्रतिक्रिया दिनुहोस्