Logo
Logo

चिकित्सक नहुँदा सघन उपचार कक्ष ठप्प


- दृष्टि न्युज/संवाददाता


उदयपुर, २३ असोज । जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार ठप्प भएको छ । करोडौँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिएपनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा लिन सकेका छैनन् ।

स्वास्थ्य मन्त्रालयको एक करोड रुपैयाँको सहयोगमा तीन महिनाअघि मात्र अस्पतालमा भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्ष निर्माण गरिएको थियो । तर, अस्पतालले विशेषज्ञ चिकित्सकसहित प्राविधिक अहिलेसम्म पनि व्यवस्थापन गर्न सकेको छैन । जसका कारण सघन उपचार कक्ष प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।
जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. जीवनारायण मण्डलका अनुसार अस्पतालमा सघन उपचार कक्ष सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको एक करोडबाट दुई वटा भेन्टिलेटर मेसिन जडान गरिएको छ । तर, विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुन नसक्दा अहिलेसम्म सघन उपचार कक्ष सञ्चालनमा आउन सकेको छैन् । सघन उपचार कक्ष सञ्चालनका लागि एक विषय विशेषज्ञ र अन्य तालीम प्राप्त प्राविधिक नर्सहरुको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अस्थामा रहेको अस्पताल प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए ।
उनका अनुसार विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि प्रदेश सरकारसँग पटक पटक अनुरोध गरिएपनि हालसम्म व्यवस्थापन हुन सकेको छैन । वशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको सघन उपचार कक्ष ठप्प भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्