
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु.१ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनमा आठ जना घाइते भएका छन् ।
दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको र तीनै जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।
सबै घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।











