Logo
Logo

हरेक कार्यक्रममा युवा पुस्तालाई समेट्नुपर्छ : सञ्चारमन्त्री


252
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिएका छन् । साथै उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताए ।

राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित ‘सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यस आन्दोलनलाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् ।

‘अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो । युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ । उनीहरुले परिवर्तनका लागि बलिदान दिन सक्छन् भन्ने देखाएका छन्’, सरकारका प्रवक्ता खरेलले भने, ‘हरेक चरणका आन्दोलनमा युवाको भूमिका रहँदै आएको छ । युवाले चाहेमा २७ घण्टामा कायापलट हुन सक्छ भनेर प्रमाणित गरे तर यसपटक जेनजीहरु सरकारमा आउन चाहेनन् । त्यसकारण यो निःस्वार्थ आन्दोलन हो । उनीहरु आफू सत्तामा आउन चाहेनन्, सुशासन र रोजगारीको माग मात्रै गरे ।’

उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपुरो हुने भन्दै युवा नेतृत्वमा आउनुपर्नेमा जोड दिए । उनले नेपाली राजनीतिमा अब युवाको दबदबा हुनेवाला भएको र त्यसलाई कसैले रोकेर नरोकिने भनाइ व्यक्त गरे ।

‘अब हरेक राजनीतिक पार्टीले युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन । मुलुकका युवाको भविष्य राजनीतिमा उज्ज्वल छ ।’

प्रतिक्रिया दिनुहोस्