काठमाडौं । गत भदौ ३२ र २४ गतेको जेनजी आन्दोलनको आडमा बनेको सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले मन्त्रिपरिषद् चौथो पटक विस्तार भएको छ ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलल मन्त्रीहरू कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईँ र श्रद्धा श्रेष्ठलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यससँगै प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ । प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा र खानेपानीसहित तीन मन्त्रालय भने आफूसँगै राखेकी छन् ।
श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयस चौलागाईँले वन तथा वातावरण मन्त्रालयस भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
सङ्घीय कार्यपालिकामा कुल २१ वटा मन्त्रालय छन् । यसअघि नै मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीले एउटाभन्दा बढी मन्त्रालय हेर्दै आएका छन् ।
राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको छ ।
अहिले मन्त्रिपरिषद् विस्तार तथा मन्त्रालय हेरफेर गर्दा प्रधानमन्त्री कार्कीले अनिलकुमार सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएकी छन् । यसअघि सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण नवनियुक्त इङ्नामले पाएका छन् ।
प्रधानमन्त्री नियुक्त भएको केही दिनपछि कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रिपरिषद्मा समावेश गरेकी थिइन् ।
दोस्रो पटक विस्तार हुँदा अनिलकुमार सिन्हा, मदन परियार, महावीर पुन र जगदीश खरेल मन्त्रिपरिषद्मा परेका थिए ।
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा डा सुधा गौतम र बब्लु गुप्ता मन्त्री बनेका थिए । त्यतिबेला नाम सिफारिस भएको भए पनि अन्तिम समयमा दुई जना मन्त्री बन्न पाएका थिएनन् ।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीसहित बढीमा २५ मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । प्रधानमन्त्री बनेपछि कार्कीले मन्त्रिपरिषद्मा ११-१२ सदस्य हुन सक्ने बताएकी थिइन् । तर, उनले चौथो पटक मन्त्रीपरिषद् विस्तार गर्दासम्म मन्त्रीहरूको सङ्ख्या १४ पुगेको छ ।
को हुन् नयाँ मन्त्री ?
कुमार इङ्नाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका इङ्नाम काठमाण्डू स्कूल अफ ल (केएसएल) मा अन्तर्राष्ट्रिय व्यापार कानुन प्राध्यापन गर्छन् । त्यसअघि उनी महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा प्राध्यापन गर्दै आएका थिए ।
राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्न लागेका उनी अवकाशप्राप्त वरिष्ठ प्रहरी अधिकारी हुन् । उनी नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक थिए । उनी बैतडीका हुन् ।
माधव चौलागाईँ : वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका चौलागाईँ जुम्लाका हुन् । उनले थाईल्यान्डबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन् । उनी कर्णालीका विषयवस्तुमा केन्द्रित भएर कलम चलाउँदै आएका छन् ।
उनी ‘सपादलक्ष कर्णाली’का लेखक हुन् । केही महिनाअघि निकै चर्चामा रहेको गीतिकविता ‘म माण्ठ हुँ.. जुरुक्क कर्णाली’उनकै रचना हो ।
श्रद्धा श्रेष्ठ : श्रेष्ठ नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकका रूपमा काम गरेकी छन् जहाँ उनले एशिया र ओशिनिया एकाइ हेर्थिन् । यसअघि उनी बोर्डअन्तर्गत रहेको दिगो पर्यटन परियोजनामा राष्ट्रिय निर्देशक थिइन् । उनले संयुक्त राज्य अमेरिकामा आर्थिक विषय अध्ययन गरेकी छन् । उनी काठमाण्डूकी हुन् ।











