Logo
Logo

जेनजी आन्दोलनमा भागेका २२ मुद्दाका आरोपी फेरि १६ लाख चोरीमा पक्राउ


504
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका २२ मुद्दा लागेका युवक फेरि १६ लाख रुपैयाँ चोरीको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त गौसलाको टोलीले शुक्रवार चोरीको आरोपमा दीपक गजुरेललाई पक्राउ गरेको हो । प्रहरीले उनलाई  १० लाख रुपैयाँसहित पक्राउ गरेको हो । 

केही दिनअघि सिनामंगलस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाबाट करीब १६ लाख रुपैयाँ चोरी भएको थियो । सहकारी संस्थाले दिएको उजुरीको आधारमा गौसला प्रहरीको टोलीले  खोजीकार्य गरिरहेको थियो । 

त्यही क्रममा दीपकलाई शुक्रवार पक्राउ गरिएको हो । उनको साथबाट करिब १० लाख रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

नुवाकोटको बेलकोट नगरपालिका-९ का दीपकलाई काठमाडौं महानगरपालिका-८ रातोपुलस्थित चेम्बर होटलबाट पक्राउ गरिएको हो। यसअघि उनी विरुद्ध २२ वटा मुद्दा लागेका थिए। जसमध्ये २० वटा मुद्दा सहकारी चोरीकै थिए । 

त्यस्तै, एउटा मुद्दा लागूऔषधको थियो।  अर्को चोरीको मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो । त्यही मुद्दाका क्रममा उनी पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारामा रहेका थिए । 

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारमा पनि तोडफोड गरिएको थियो। त्यही वेला दीपक पनि कारागारबाट भागेका थिए। 

जेनजी आन्दोलनमा कारागारबाट भागेपछि उनी फेरि चोरी संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । त्यही क्रममा उनले राजश्री सहकारीमा चोरी गरेको पाइएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्