काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतको निर्वाचन आयोगमा सरुवा भएको छ । २० महिना उद्योग सचिवका रुपमा काम गरेका राउत मन्त्रालयमा रहँदा उद्योग बिभाग, कम्पनी रजिष्टार कार्यालय र संस्थानका प्रमुखहरुसँग असुुलीमा ब्यस्त रहँदैआएको आरोप छ । उद्योग मन्त्रालयमा २०८० चैतमा सरुवा भएका थिए । राउतले मन्त्रालयमा रहँदा उद्योग बिभागका कर्मचारी खटाउँदा सेटिङका आधारमा गर्ने गरेको आरोप छ ।

२ वटा महानिर्देशक आप्mनै कार्यकालमा पठाएर उद्योग बिभागलाई आफ्नो अनुकूल बनाएका राउतले सेटिङमा नचल्ने कर्मचारीहरुलाई सरुवा गर्दैआएका थिए । निर्देशकहरुको थमौती र सरुवामा समेत राउतको बिशेष चासो रहँदैआएको थियो ।
सामान्य प्रशासन मन्त्रालयले गरेको उद्योग बिभागका निर्देशकहरुको थमौतीमा राउत आफैं संलग्न हुनुले उनी बिभागप्रति कति चासो राख्छन् भन्ने पुष्टि हुन्छ । पछिल्लो समय जेनजी सरकारका उद्योग मन्त्री अनिलकुमार सिन्हालाई समेत आफूमार्फत् काम लगाउने वातावरण बनाएका थिए ।
त्यही भएरै होला, उद्योग मन्त्री सिन्हाले आफूसँग भेट्न आउनेहरुलाई सचिवमार्फत् आउन अनुरोध गर्ने गरेका थिए । सामान्यले उद्योग मन्त्रालयमातहतबाट स्थानीय सरुवा गरेका उपसचिवद्वय रमिला भण्डारी, सोम गौतम र बुद्धि उपाध्यायलाई लामो समयसम्म रमाना नदिई आफ्नै संरक्षणमा राखेका थिए ।
उनकै आग्रहमा मन्त्री सिन्हाले भण्डारीलाई भूमिब्यवस्था मन्त्रालयको आफ्नै सचिवालयमा राखेका छन् । उद्योग बिभागका पछिल्ला सरुवा छानीछानी हुनुमा पनि राउतको ठूलो भूमिका छ । २ बर्ष पुगेका कर्मचारीहरुलाई सरुवा गर्नुपर्ने प्रावधानलाई मिच्दै राउतले उद्योग बिभागमा आधा दर्जन बिभिन्न पदमा कार्यरत कर्मचारीहरुको सरुवा रोकेर बाँकीलाई अन्य निकायमा खटाएका छन् ।
मन्त्रालयबाट उपसचिवद्वय सुरेश दाहाल र इन्द्रकुमारी थपलियालाई उनकै कोटामा उद्योग बिभागमा पठाउँदा उनले संरक्षण गरेका उपसचिव बिष्णु भट्टराई, मेकानिकल इन्जीनीयर अर्जुन चौधरी, केमिकल इन्जीनीयर आनन्द अर्याल, शाखा अधिकृत बेनुपराज कार्कीको भने थमौती भएको छ ।
उपसचिव भट्टराई मन्त्रालयमा हुँदै सचिवको राउतको कार्यकक्षमा जाँदा मर्यादाबिपरीत उठेर स्वागत गर्ने गरेको बिषय अहिलेसमेत चर्चा हुने गरेको छ । अर्याल र चौधरीले बेलाबखत सचिव राउतको घरमै पुगी सेवा गर्ने गरेको स्रोतको दाबी छ ।
कम्पनी रजिष्टार कार्यालय र उद्योग बिभागमा अनियमित तरिकाले कर्मचारी सरुवा गरेर राउतले ती कार्यालयलाई अस्थिर बनाएको आरोप छ । उद्योग मन्त्रालयमा २० महिना बसेर राउत चुनाव गर्ने तयारीमा रहेको निर्वाचन आयोगमा सरुवा भएका छन् । चुनावमा आयोगमा अरबौं बजेट परिचालन गर्न पाउने भएकाले उनी आयोगमा गएका हुन् ।
२ बर्षअघि ललिता निवास जग्गामा कीर्ते गरेको आरोपमा सचिव राउतलाई २०८० असार २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेपछि उनलाई सर्वोच्च अदालतले थुनामुक्त गरेको थियो ।











