Logo
Logo

एसएसपीहरु दौडधुपमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असोज । विगतमा जस्तो तामझाम नगरी नेपाल प्रहरीले यो वर्ष प्रहरी दिवस मनाउने भएको छ । यही असोज ३० गते मनाउन लागिएको प्रहरी दिवसमा यो वर्ष पुलिस ब्याटन पुरस्कार वितरण नहुने भएको छ ।

तर, प्रहरी दिवस भन्दा प्रहरीको चासो भने सरुवा बढुवामै छ । प्रहरी दिवस लगत्तै एसएसपीको सरुवा र बढुवा गर्ने तयारी गृह मन्त्रालयको छ । प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषद्मा रोकिदा प्रहरीको बढुवा पनि रोकिएको छ । सो सर्वेक्षणमा प्रहरीमा पाँच वटा दरबन्दी थप्ने प्रस्ताव छ । हाल चार डिआईजीको दरबन्दी खाली छ । थपिएपछि नौ हुनेछ । जसमा सिनियर ब्याचकै २० जना एसएसपी प्रतिस्पर्धामा छन् ।

डिआइजी बढुवामा गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । बलात्कार प्रकरणमा परेका एसएसपी शौरभ राणा भने बढुवामा पर्ने सम्भावना देखिएको छैन ।

जुनियर ब्याचबाट दिवेश लोहनी, सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्रीलगायत चलखेलमा लागेको स्रोत बताउँछ ।

जुनियर ब्याचबाट दीपक थापा, सन्दीप भण्डारी लगायतले पनि लबिङ थालेपछि सिनियरहरु डराएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विगतमा जस्तै ब्याच नै मिचेर बढुवा रोक्न सक्छन् कि सक्दैनन् त्यो उनको लागि चुनौती बनेको छ ।

तर््यस्तै, एसएसपीहरुको सरुवाको पनि तयारी भइरहेको छ । एसएसपी सरुवामा धेरैको चासो भने ललितपुर परिसर, महानगरीय ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्ता प्रहरी कार्यालयमा छ । सातै प्रदेशका तालिम केन्द्रका इन्चार्जहरुको पनि सरुवाको तयारी भइरहेको स्रोत बताउँछ । काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीलाई हटाएर आफ्नो सेटिङ चलाउन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा निकटको एक समूह पनि सक्रिय भएको समाचार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्