
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् ।
ललितपुरस्थित नक्खु कारागारमा रहेका उनी आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् ।
उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ ।
उक्त आदेशअनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गर्न सकिने रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया पूरा गरिनेछ । अदालतको आदेशअनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र उनलाई थुनामुक्त गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ ।











