
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति जेलबाट छुटे लगत्तै चितवन जाने भएका छन् । उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने आज रुपन्देही जाँदै छन् । रुपन्देही पुगेर उनी जिल्ला अदालतमा उपस्थित हुनेछन् ।
अदालतको आदेशअनुसार धरौटी राख्ने रकमको बैंक ग्यारेन्टी तयारी भइसकेकाले उनी आजै छुट्ने रास्वपा नेताहरुले बताएका छन् । जेलबाट छुटेपछि सिधैं चितवन जाने कार्यक्रम रहेको लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार शनिबार चितवनको चौबिसकोटीमा कार्यक्रम राखिएको छ । लामिछानेले सो कार्यक्रमलाई विशेष सम्बोधन गर्ने न्यौपानेले बताए । लामिछाने त्यसपछि मात्रै काठमाडौँ फर्किनेछन् । समय भएमा शनिबार र नत्र आइतबार मात्रै काठमाडौँ फर्किने न्यौपानेको भनाइ छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनले आफ्नो बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त गर्न उच्च अदालतमा निवेदन दिएका थिए । त्यसमा सुनुवाइ गर्दै उच्च अदालतको बुटवल इजलासले लामिछानेको भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोको बैंक ग्यारेन्टी बुझाएर रिहा गर्न आदेश दिएको हो ।











