Logo
Logo

निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल


693
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको अवस्थालाई छोटो समयमै सरकारले सामान्यीकरण गर्न सफल भएको उल्लेख गरे ।

The current image has no alternative text. The file name is: jagdish-3.jpg

वर्तमान सरकार गठनको १०० दिनका सन्दर्भमा नेपाल टेलिभिजन र रासससँग कुराकानी गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले जेनजी आन्दोलनमा ७६ जनाको निधन र प्रारिम्भक अनुमानअनुसार ८४ अर्बभन्दा बढीको भौतिक क्षति भएको अवस्थाबाट यहाँसम्म ल्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गरेको बताए । उनले आमजनमानसमा पनि डर र त्रास कम हुँदै गएको र समाज सकारात्मक दिशातर्फ उन्मुख भइरहेको स्पष्ट पारे ।

आगामी फागुन २१ गते निर्वाचन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणलगायत कार्यदेशसहित जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको पृष्ठभूमि उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको सुनश्चितता भइसकेकाले अब शङ्का नगर्न आग्रह गरे ।

“आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका बनाएर काम गरिरहेको छ । राजनीतिक दलहरू उत्साहजनक रूपमा निर्वाचनमा होमिइरहेको अवस्था छ । जनता पनि निर्वाचनप्रति उत्साहित छन्”, उनले भने, “निर्वाचनका लागि आठ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन भइसकेकाले निर्वाचन सुनिश्चित भएको छ ।”

सरकार निर्वाचनका लागि प्रतिबद्ध रही निर्वाचन आयोग, सुरक्षा निकायका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको उनको भनाइ थियो । मन्त्री खरेलले निर्धारित समयमै निर्वाचन गराउन राजनीतिक दल, सरोकारवाला संस्थालगायतसँग वार्ता भइरहेको पनि उल्लेख गरे ।

मन्त्री खरेलले सरकारले पाएको अर्को कार्यदेशअनुसार सुशासन कायम गर्ने सिलसिलामा खर्चमा मितव्ययी हुने र आवश्यकता बाहिरका आयोजनाको बजेट कटौती गरिरहेको बताए । साथै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पनि सरकारले ध्यान दिएको उनको भनाइ छ ।

“भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा विगत जस्तो सरकारबाट राज्यका निकायलाई हुने दबाब र प्रभावमा पार्ने काम भएको छ्रैन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र ढङ्गले काम गर्ने वातावरण मिलाएको छ । फलस्वरूप १०० दिनमा ३० भन्दा बढी ठूला भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएका छन्”, उनले भने, “सरकारअन्तर्गतका निकाय केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्रिय सतर्कता केन्द्रले स्वतन्त्र र व्यावसायिक ढङ्गले काम गरिरहेका छन् ।”

मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा उठाइएको मुद्दा सम्बोधन गर्ने क्रममा जेनजी पुस्तासँग महत्त्वपूर्ण समझदारी भएको बताए । जेनजी विद्रोह हो की आन्दोलन भन्ने अन्योलतालाई चिर्दै सरकारले जनआन्दोलनको मान्यता दिएको उनको भनाइ थियो । त्यो विषय राजपत्रमा प्रकाशित भइसकेको उनले उल्लेख गरे।

आन्दोलनका क्रममा भएको जधनधनको क्षतिको छानबिन गर्न आयोग गठन भइ विधि, प्रक्रिया र कानुनसम्मत ढङ्गले काम भइरहेको जनाउँदै उनले आयोगको कार्यक्षेत्र सरकारले मिच्न नपाउने र आयोगले स्वतन्त्र रूपले काम गर्ने बताए । आयोगको काममा सरकारले हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ थियो ।

आसन्न निर्वाचनमा ९९ प्रतिशतभन्दाबढी राजनीतिक दलको सहमति रहेको जनाउँदै उनले भने, “सोहीअनुसारको दलहरूले आ–आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । कतिपयले समानुपातिक सूचीभित्र पर्ने उम्मेदवारको बारेमा छलफल गरिसक्नुभएको छ । कैयौँ राजनीतिक दल गाउँदेखि सहरसम्म स्थानीयदेखि केन्द्रसम्म चुनावी अभियानमा होमिसकेका छन् ।”

केही दलले चुनाव अगावै महाविधशेन सम्पन्न गरेर नेतृत्व चयन गरिसकेका बताउँदै उनले केही राजनीतिक दलले भने सुरक्षा चासो देखाएको बताए । मन्त्री खरेलले भने, “केही दलले निर्वाचनको वातावरण सँग जोडेर केही हतियार र कैदी बाहिर छन् भनी चासो देखाएका छन् । उनीहरूले चुनावमा भाग लिन्नौँ भनेका छैनन् । उहाँहरू निर्वाचन र लोकतन्त्रप्रति विश्वास राख्ने पार्टी हो भनिरहेको बेला हामीले शङ्का गर्न मिल्दैन ।”

भयरहित वातावरणमा निर्वाचन हुनुपर्छ भन्ने दलको चासो सरकारले बुझेको स्पष्ट गर्दै नेपाल सरकारका प्रवक्ता खरेलले भने, “पूर्णरूपमा निस्पक्ष, स्वतन्त्र र धाँधलिरहित चुनाव गराउनेमा सबै राजनीतिक दल र जनतालाई सरकारको प्रतिबद्धता व्यक्त गर्छ ।” उनले अधिकांश फरार कैदी कारागारमा फर्किसकेको उल्लेख गर्दै चुनावको अवधिसम्म सबै कैदीलाई कारागारमा फर्काउनेमा प्रतिबद्धता जनाए। यसका लागि त्यसमा गृह प्रशासन लागिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्