Logo
Logo

उम्मेदवार छनोटमा नेकपाको कडा नीति : जेनजी अनिवार्य, यौन उत्पीडनमा संलग्न अयोग्य


3.1k
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नयाँ मापदण्ड लागू गरेको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले आन्तरिक परिपत्र जारी गर्दै उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने भनेको हो ।

परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ ।

त्यस्तै मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान–कानूनले अयोग्य ठहर्याएको हुन नहुने प्रावधान छ । बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारीबाटै वञ्चित गरिएको छ ।

आर्थिक पारदर्शितालाई पार्टीले विशेष जोड दिएको छ । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछन् ।

कर–राजश्वमा पूर्ण अद्यावधिक, कालो सूचीमा नाम नभएको र सम्पती तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । परिपत्र अनुसार पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उम्मेदवारीबाट बाहिरिनेछन् ।

नेकपाले सामाजिक आचरणमा पनि कुनै सम्झौता नगर्ने नीति अवलम्वन गरेको छ । जातीय–लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्ति पार्टीबाट उम्मेदवार बन्न पाउने छैनन् ।

राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रमप्रति पूर्ण प्रतिवद्धता, आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा र जनतामा लोकप्रियता उम्मेदवारका लागि अनिवार्य मापदण्ड तोकिएका छन् ।

उम्मेदवार सिफारिस गर्दा विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई पनि आधार बनाइनेछ । प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँच जना सिफारिस गर्नुपर्ने व्यवस्था छ भने जित्ने सम्भावना भएका लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्