
काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभा तत्काल पुनस्र्थापना गर्न राष्ट्रपति समक्ष आग्रह गरेको छ ।
विघटित प्रतिनिधि सभामा एमाले प्रमुख सचेतक महेश बर्तौलाले विज्ञप्तिमार्फत प्रतिनिधिसभा पुनस्र्थापना गरेर संसद्को बैठक आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् । संसद् विघटनविरुद्धका मुद्दाहरू सर्वोच्च अदालतमा विचाराधीन रहेतापनि राष्ट्रपति स्वयंले यो गल्ती सच्याउनुपर्ने उनको भनाई छ ।
‘सार्वभौम नेपाली जनताको विवेकको मतले निर्वाचित जनप्रतिनिधिमूलक सर्वोच्च संस्थाको विघटन हुनु लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार हो,’ उनले भनेका छन्, ‘राष्ट्रपतिको यो कदमले जनतामा निहित सार्वभौमसत्ताको शिर छेदन गर्ने काम गरेको छ । यो राष्ट्रपति स्वयम्ले सच्याउनुपर्छ ।’
एमालेले तत्कालीन राजा ज्ञानेन्द्रले २०६३ वैशाख ११ गते घोषणा मार्फत संसद् पुनस्र्थापना गरेको ऐतिहासिक नजिर स्मरण गराउँदै अहिलेको जटिल परिस्थितिमा यो नै उत्तम विकल्प भएको बताएको छ ।











