
काठमाडौंं । विभिन्न क्षेत्रका अगुवा एवं परिवर्तनकारी व्यक्तित्वहरूलाई समेटेर नेपाल जेन–जी फ्रन्ट’ले सल्लाहकार परिषद् गठन गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले १३ सदस्यीय सल्लाहकार परिषद् घोषणा गरेको हो ।
नयाँ गठित सल्लाहकार परिषद्मा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष मिलन पाण्डेसहित डा. रामजी राम, आशुतोष तिवारी, र प्रगति राई लगायत १३ जना रहेका छन् ।
परिषद्का अन्य सदस्यहरूमा साधना राई, डा. मीना पौडेल, रमेश पौड्याल, प्रमेश श्रेष्ठ, दिव्येश गिरि, सस्मित पोखरेल, सरोज गौतम, नवीन प्राचीन र अनन्त अर्याल रहेका छन् ।
फ्रन्टले आफ्नो आन्दोलन र विद्रोहपछि नेपाल सरकारसँग भएको सम्झौताको पूर्ण परिपालना र कार्यान्वयनका लागि खबरदारी गर्न यो परिषद् गठन गरिएको जनाएको छ ।
अन्तरिम सरकारलाई सम्झौता कार्यान्वयनका लागि सजग गराउँदै फ्रन्टले आगामी जननिर्वाचित संसद् र सरकारले पनि जेन–जी विद्रोहको मर्म आत्मसात् गरोस् भन्ने हेतुले विभिन्न बहुपक्षीय संवाद र जनजागरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि जानकारी दिएको छ ।
आफ्ना कार्यहरूलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउन अनुभवी र परिवर्तनकारी अग्रजहरूलाई सल्लाहकारको रूपमा जोडिएको फ्रन्टले जनाएको छ ।












