
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र महाधिवेशन सार्ने खेल भइरहेको भन्दै कडा आपत्ति समेत जनाएका छन् । आज बिहान काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले तल्लो तहबाट क्रियाशील सदस्यहरूको नामावली पठाउन भइरहेको ढिलाइप्रति सङ्केत गर्दै नियोजित रूपमा महाधिवेशन टार्न खोजिएको आशङ्का व्यक्त गरे ।
महामन्त्रीको हैसियतमा आफूले सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न स्पष्ट रूपमा भनिरहेको उनले बताए । जुनसुकै मूल्य चुकाउन परे पनि आगामी आम निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुनैपर्ने उनको अडान छ । थापाले नियमित अधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत भए पनि नेतृत्वको टुङ्गो लगाउनुपर्ने र महाधिवेशन बिना कांग्रेस चुनावमा जान नहुने चेतावनी दिए ।
‘अहिले तलबाट क्रियाशील सदस्यको कामहरू हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो आइरहेको छैन । तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्न सक्छु भन्ने विश्वास छ । लागिरहेको छौँ,’ उनले भने, ‘पत्रपत्रिकाहरू हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो । मजाले बाटो ठिक थियो । समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलि अलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ ।’
साथै उनले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य रहेको बताए












