काठमाडौं । ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिमा ‘क्यासिनो इभेन्ट’ को नाममा ठगी गर्ने भारतीय समूह पक्राउ परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मङ्सिर २६ मा महाकाय समूहका मुख्य व्यक्ति ५७ वर्षीय सुरेश महाजनसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक प्रमोद मोरिया, विक्रम सिंह, दिनेश वर्मा, नेपाली नागरिक भवानी पाण्डे र चिजा खड्का छन् ।
जिल्ला प्रहरीका अनुसार, समूहले क्यासिनोमा तासमा म्याग्नेट र चिप्स जडान गरी, आँखामा विशेष लेन्स प्रयोग गर्ने डमी खेलाडीमार्फत अन्य खेलाडीलाई हराएर करोडौं रुपैयाँ ठगी गर्ने योजना बनाएको थियो ।
आँखामा लेन्स प्रयोग गर्ने खेलाडीहरूले पहिले नै तास चिनेका र हारजितबारे जानकारी पाएका हुँदा त्यसको आधारमा जुवा जित्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
महाजनको समूहले मङ्सिर २५ देखि २८ सम्म वाल्डो क्यासिनोमा करिब २०० खेलाडीलाई ल्याएर इभेन्ट आयोजना गर्ने तयारी गरेको थियो । नेपालमा समूहको सहकार्य जनार्दन उप्रेतीले गरेका थिए । उप्रेती बीपी समूहका सञ्चालक हुन् र उनी क्यासिनोको टेबल बुकिङ, होटल व्यवस्थापन र कर्मचारी परिचालनको काममा संलग्न रहेको पाइएको छ।
पक्राउ परेका महाजनको समूहले यसअघि बौद्धस्थित प्राइड क्यासिनोमा इभेन्ट गर्दै आएको थियो । उनीहरूले भारत, नेपाल, श्रीलंका, भियतनाम र कम्बोडियामा पनि यस्तै ठगी योजना सञ्चालन गरेको खुलेको छ ।
भारतबाट पैसा भएका र जुवाको लत बसेकाहरूलाई छनोट गरी नेपाल ल्याइने र डमी खेलाडीमार्फत खेल जिताइ रकम ठगी गरिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ।
महाजनले क्यासिनो इभेन्टका लागि छाया सेन्टरको होटल अलफ्टमा ४०, नक्सालको मेरियटमा ५० र र्याडिसनमा २० वटा कोठा बुक गरेको थियो । साथै, भारतबाट ल्याइएका ५० प्याकेट चिप्स जडित तास र ४ सेट आई लेन्स पनि प्रयोग गरिएको पाइएको छ ।
प्रहरीले दोषीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । फरार रहेका समूहका अन्य व्यक्ति, जसमा क्यासिनो सञ्चालक जनार्दन उप्रेती पनि छन्, खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले पत्रकार सम्मेलनमा भने, “पहिलो दिनमै छापा मार्दा रकम हरण हुन पाएन । तर महाजन समूह यसअघि पनि नेपालमा योजना बनाइ ठगी गर्दै आएको पाइएको छ। आँखामा लेन्स लगाएर डमी खेलाडीमार्फत योजना सञ्चालन गर्ने प्रविधि उनीहरूले प्रयोग गरेका थिए ।”












