काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अब उपत्यका बाहिर पनि दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले २०८१ असार १ देखि २०८२ जेठ ३१ सम्म उत्तीर्ण ८९ हजार १९९ विद्यार्थीमध्ये १६ हजार ३८० जना मात्र दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका थिए ।

दीक्षान्त समारोहमा सहभागी विद्यार्थी र अभिभावकको खर्च धेरै हुने र काठमाडौंमा ठूलो भीड हुने भएकाले त्रिविले उपत्यका बाहिर पनि समारोहको आयोजना गर्ने योजना अघि सारेको हो । पहिलो चरणमा यो समारोह पोखरामा गर्ने तयारी भइरहेको छ। विश्वविद्यालय अनुदान आयोगले यसको लागि करिब ५ करोड रुपैयाँ बजेट छुट्टाएको छ।
त्रिविका उपकुलपति प्राडा दीपक अर्यालका अनुसार, “यसपटक ८९ हजार विद्यार्थी दीक्षित भए, तर केवल १६ हजारले मात्र फारम भरे । अभिभावकसहित काठमाडौं आउँदा ठूलो खर्च हुन्छ र विकट गाउँका विद्यार्थीका लागि आउन कठिन छ । त्यसैले उपत्यका बाहिर पनि समारोह गर्ने निष्कर्षमा पुग्यौं ।”
उपकुलपतिका अनुसार, पहिलो चरणमा पोखरामा दीक्षान्त समारोह आयोजना गर्ने निर्णयका लागि अध्ययन टोली पठाउने तयारी भइरहेको छ । टोलीमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराध अधिकारी, उपकुलपति अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदार प्रसाद रिजाल रहेका छन् ।
पोखरामा आयोजित समारोहमा रेक्टर तहका अधिकारी राखेर परीक्षा सञ्चालन र दीक्षान्त समारोह गरिने योजना बनाइएको छ । यसरी काठमाडौं बाहिर समारोह आयोजना गर्दा विद्यार्थीको सहभागिता बढ्ने र व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।
त्रिविले भविष्यमा पूर्वका लागि विराटनगरमा पनि दीक्षान्त समारोह आयोजना गर्ने योजना बनाइरहेको छ। उपकुलपति अर्यालले भने, “दीक्षान्त समारोह एउटा उत्सव हो । सबै विद्यार्थी सहभागी हुन पाउनुपर्छ । विद्यार्थीको सहजताको लागि उपत्यका बाहिर पनि समारोह आयोजना गर्न लागेका हौँ ।”












