काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् ।

नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राखेकी हुन् ।
उनले भनिन्, ‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान् । विचारमा विविधता हुनु र आफ्ना विचारको पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ ।’
निर्वाचनको पक्षमा पनि अहिले सबै यसैगरी एक ठाउँमा उभिने बेला आएको उनले बताइन् । उनले भनिन्,’विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्नेछ । सबैको विचार एउटै हुँदैन। मेरो विचार मात्र ठिक भन्नु पनि लोकतन्त्रसम्मत हुँदैन । आफ्ना विचार जनतामा लिएर र जनताबाट अनुमोदित भएर आउने अवसर निर्वाचन हो । त्यसैले निर्वाचनलाई सफल पारौँ । देशलाई अफ्ठ्यारो अवस्थाबाट जोगाउन तपाईँहरू सबै एक ठाउँमा आउनुपर्छ ।’
उनले चुनाव सफल बनाउन सरकार आफ्नो तर्फबाट सम्पूर्ण रूपले तयारी गरिरहेको जानकारी दिँदै सुरक्षाका सवालमा पनि शंका नगर्न आग्रह गरिन् । उनले भनिन्, ‘तपाईँ-हामी सबै एक ठाउँमा हुने हो भने कसैले केही गर्न सक्दैन । हतियार, कैदी धेरै फिर्ता भइसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि स्रोतसाधन उपलब्ध गराइसकिएको छ । निर्वाचनका लागि छुट्टै प्रहरी भर्तीको प्रक्रिया अघि बढेको छ। ठूलै भूकम्प वा आँधी-तुफान आए मात्र चुनाव रोकिएला। नत्र फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन। तपाईँहरू पनि तयारी गर्नुहोस् ।’
कुनै विषयमा मत-मतान्तर र छलफल हुनु सामान्य भए पनि देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिबाट भने आफू आश्चर्यचकित भएको उनको भनाइ थियो । उनले अगाडी भनिन्, ‘अहिले हेर्नुहोस्, दक्षिण एसियाका साना मुलुकहरू प्रताडित भइरहेका छन् । हामी कस्तो मुलुक बन्ने, कस्तो बनाउने भनेर पनि एकपटक मनन गरौँ । कुनै विषयमा मत-मतान्तर र छलफल हुनु एउटा कुरा हो । तर, देशै तहसनहस हुँदा पनि नचेत्ने प्रवृत्ति भने अनौठो छ । यो तत्त्व र त्यो तत्वले खेल्यो भन्छन् । तर, त्यस्ता तत्त्वलाई खेल्ने ठाउँ कसले बनाइदियोरु कसले निम्त्यायो ? हामी बाहिरियालाई दोष दिन्छौँ, आफैँतिर फर्केर भने हेर्दैनौँ ।’
अहिले मुलुकमा पुरानो र नयाँ विचारबीच द्वन्द्व भइरहे पनि यो हाम्रो एक घरभित्रको मामिला रहेकाले पारिवारिक वातारणमा मिलाउनुपर्ने उनले भनाई छ ।
यो सरकार चुनाव गराउन आएकाले त्यसमा आफू दृढ रहेको पनि उनले दोहोर्याएकी थिइन् । उनले भनिन्, ‘हामी चुनाव गराउनै आएका हौँ । यो सरकारको गठन गर्दा नै फागुन २१ को मिति तोकेर चुनाव गराउने कार्यादेश दिइएको हो । यसबाट दायाँबायाँ गर्ने छुट हामीलाई छैन । ’ नागरिक बचाउ दल, नेपालका तर्फबाट अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष ५ सूत्रीय ज्ञापनपत्र पनि बुझाएका थिए ।












