काठमाडौं । जेनजी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङले आफू कुनै पनि राजनीतिक दलमा संलग्न नरहेको स्पष्ट पारेका छन् । शनिवार सामाजिक सञ्जालमार्फत उनले आफु कुनै दलमा नरहेको बताएका छन् ।

गुरुङले राष्ट्रको हित र जनताको इच्छालाई सर्वोच्च प्राथमिकता दिँदै सम्पूर्ण वैकल्पिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास गरिरहेको उल्लेख गरे ।
उनले सत्ता, पद वा व्यक्तिगत प्रसिद्धिप्रति आफू र आफ्नो समूह कहिल्यै आकर्षित नभएको र भविष्यमा पनि नहुने दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘जेनजी शहिदहरुको त्यो चिसो खुट्टाको कसम ! राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि मानेर सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै डालोमा ल्याउनका निम्ति एकीकरण अभियान चलाउँदै गर्दा हाम्रो कुनै पनि राजनैतिक दलमा संलग्नता नरहेको स्पष्ट गर्न चाहन्छु ।’
साथै, गुरुङले नागरिकको बलिदानको जगमा उभिएर सत्ताको सपना देख्ने नयाँ राजनीतिक शक्तिहरूलाई सचेत समेत गराएका छन् । उनले जेनजीको जनादेश, साहसी युवाहरूको नेतृत्व र सहिद तथा घाइतेको बलिदानलाई प्राथमिकतामा राख्ने शक्तिलाई मात्र आफूहरूले स्वीकार गर्ने स्पष्ट पारे ।
उनले भनेका छन्, ‘हाम्रो दाजुभाइ र दिदीबहिनीको बलिदानमा उभिएर सत्तामा पुग्ने सपना हेर्दै गरेका सम्पूर्ण उदाउँदै गरेका विभिन्न राजनैतिक शक्तिहरूलाई स्मरण रहोस्- जेनजीको जनादेश, साहसी जेनजी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेतृत्व र सम्मानजनक स्थान र सहिद तथा घाइतेका बलिदानलाई प्राथमिकतामा राख्ने शक्तिलाई मात्र हामी स्वीकार्ने छौं ।’
पछिल्लो समय गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतका नयाँ तथा वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गराउने कसरत गरिरहेका छन् ।












