काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर सङ्कटको सङ्घारमा पुगेको बताएका छन् ।

शनिवार झापाको बिर्तामोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले देशलाई विदेशी शक्तिहरूले नियन्त्रण गरिरहेको बताए । उनले भने, ‘अहिलेका प्रमुख राजनीतिक दलहरूको हातमा वास्तविक अधिकार नै छैन । सरकार कसले बनाउने, मन्त्री को बन्ने, सबै कुरामा विदेशीको सिफारिस र निर्देशन काम गरिरहेको छ । आगामी निर्वाचनमा कुन दलले जित्ने, कुनले हार्ने भन्ने कुरा पनि विदेशीहरूले नै तय गरिरहेका छन् भन्ने कुरा सबैले सुनेका छौँ । यतिमात्र होइन, नयाँ पार्टीहरू पनि विदेशीको इच्छाअनुसार बनाइदिइरहेका छन् । यसले देशलाई गम्भीर सङ्कटमा पुर्याएको छ ।’
यो सङ्कटबाट मुलुकलाई जोगाउने एकमात्र विकल्प राप्रपा रहेको उनको दाबी छ । ‘यो सबैबाट मुक्ति पाउन अब एकमात्र बाटो छ–राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प,’उनले भने । लिङ्देनले राप्रपाले चुनावमा केही सिट जित्ने सानो लक्ष्य मात्र नराखेको स्पष्ट पारे । ‘हामी सिट जित्ने कुरा लिएर मात्र आएका छैनौँ । यदि चुनाव भयो र हामी उम्मेदवार भयौँ भने त्यो पनि हुन्छ । तर त्योभन्दा ठूलो कुरा आज देशले जित्नुपर्छ र देशलाई जिताउनुपर्छ भन्ने हो । हामी देशको विजय र राष्ट्रिय स्वतन्त्रताका लागि आएका हौँ,’ उनले भने ।












