काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासमा बाधा पुर्याएको बताएका छन् । अख्तियारलाई बलियो बनाउँदा देश ध्वस्त भएको उनको भनाइ छ ।

एकीकृत विकास अध्ययन संस्थाको नीति सम्मेलन २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले अनिर्वाचित संस्थालाई सबैभन्दा शक्तिशाली बनाउँदा देश नबन्ने बताए ।
‘धेरै मान्छे अख्तियार बलियो बनाए भ्रष्टाचार अन्त्य हुन्छ भन्छन् । तर, अख्तियार बलियो बनाएर यो देश ध्वस्त भएको छ,’ एमाले नेता पाण्डेले भने, ‘कतिलाई लाग्ला कस्तो उल्टो कुरा गर्यो यसले । तर, अख्तियारलाई धेरै शक्तिशाली बनाउँदा मुलुकका कुनै पनि अङ्गले काम गर्न सकेका छैनन् । काम थाल्यो कि भ्रष्टाचारको मुद्दा पर्छ । अख्तियारमा मुद्दा हालेको हालेकै छ । अनि कसले गर्छ काम रु कसैले काम गरेका छैनन् ।’
राज्यका सबै निकायमाथि अनुसन्धान गर्न सक्ने अधिकार दिँदा विकासमा बाधा परिरहेको उनको भनाइ छ ।
उनले भने, ‘जनताले सबैभन्दा बढी जवाफदेहिता खोज्ने निर्वाचित जनप्रतिनिधिबाट हो । प्रधानमन्त्रीलाई अख्तियारले थुन्छ । सभामुखलाई थुन्न सक्छ । सेवानिवृत्त भएपछि न्यायाधीशलाई सम्पत्तिको मुद्दामा थुन्न सक्छ । सेनालाई त्यसैगरी थुन्न सक्छ । आयोजनको कुल लागत बराबर नै भ्रष्टाचार गरेको भनेर पनि उजुरी परेका हुन्छन् । यस्तो पनि कहीँ हुन्छ ? यस्तोमा कसैले काम गरेका छैनन् । विकासलाई बाधा परेको छ ।’
भ्रष्टाचार नियन्त्रणको लागि अनिर्वाचित संस्थालाई सबैभन्दा शक्तिशाली बनाउनुभन्दा पाँच सय र एक हजारका नोट बजारबाट बिस्तारै विस्थापित गर्ने र सयका मात्र नोट मात्र छाप्ने विकल्प प्रस्तुत गरे ।
‘बजारबाट पाँच सय र हजारका नोट बिस्तारै विस्थापित गरौँ । सयका नोट मात्र छापौँ । यस्तो भयो भने एक करोड भ्रष्टाचार गर्नु पर्यो भने एक ट्रक पैशा लैजानुपर्छ । अनि कसले गर्छ भ्रष्टाचार ?,’ उनले थपे, ‘सबै भुक्तानीलाई डिजिटल प्रविधिबाट मात्र गर्ने व्यवस्था गरेर पनि भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।’












