Logo
Logo

रवि-बालेन एकतामा कुलमान नसमेटिएपछि सुदनको असन्तुष्टि


378
Shares

काठमाडौं । जेनजी अभियान्ता सुदन गुरुङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले कुलमान घिसिङलाई एकतामा नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार बिहान रास्वपाका सभापति लामिछाने र काठमाडौं महानगरका मेयर बालेनबीच सहमति भएपछि गुरुङले मध्यराति सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् । त्यसअघि रवि, बालेन र ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमानबीच एकताको प्रयास भइरहेको थियो ।

घिसिङलाई उक्त एकताबाट बाहिर राखिनु परिवर्तन चाहने जनताका लागि दुःखद रहेको भन्दै सुदनले अझै पनि कुलमान नसमेटिए पक्ष लिनुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन् ।

‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ। कसैलाई पनि कुनै पक्ष लिन बाध्य पार्ने होइन,’ उनले भनेका छन्, ‘तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ । अलग राखिएको हो की अलग रहन खोजेका हुन् समयले बताउला । तर आजको समयले तपाईहरुलाई सँगै उभिने म्यान्डेट दिएको छ ।’

उनले अगाडि लेखेका छन्, ‘आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ– कृपया! यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ । त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ– के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनुभएको हो कि केवल त्यसको भ्रम मात्रै छरिरहनुभएको हो ? जेनजीले हेरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्