Logo
Logo

दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग


- दृष्टि न्युज/संवाददाता


भरतपुर, ३० असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो ।

जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गनमार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकको फोटो, भिडियो र सवारीको गति कैद गर्ने उनले बताए । तीव्रगतिका कारण अधिकांश गम्भीर प्रकृतिका दुर्घटना हुने भएकाले यसले न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । ‘चाडपर्व लक्षित गरेर यो अभियान सञ्चालन गरेका छौँ, यसलाई पछिसम्म निरन्तरता दिनेछौँ’, भट्टले भने । उनले सवारी साधन चलाउँदा संयमित र अुनशासित हुनसमेत अनुरोध गरे ।

ट्राफिक प्रहरीले पहिलो दिनमै ४१ जना सवारी चालकलाई कारवाही र सचेत गराएको छ । चितवन सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणकै लागि जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक बोर्डसमेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्