काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग एकता गरेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू घर फर्किएको अनुभूति गरिरहेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित विशेष सभामार्फत राप्रपा र राप्रपा नेपालबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिएको हो। उक्त सभालाई सम्बोधन गर्दै थापाले पार्टी एकतालाई भावनात्मक पुनर्मिलनका रूपमा व्याख्या गरे।
उनले भने, “घर फर्किँदा म रमाइलो अनुभूति गरिरहेको छु। तर, यही भिडमा केही प्रिय व्यक्तिहरूको अनुपस्थितिले मन खड्किएको छ। मेरा अभिन्न मित्र दीपक बोहोरा, बालराम घर्ती मगरलाई हामीले बिदा गरिसकेका छौँ। जनकपुरका कृष्णप्रताप मल्ले पनि हामीलाई छोडेर गए । उनीहरू आज यहाँ भएको भए कति खुसी हुनुहुन्थ्यो होला।”
थापाले एकतासँगै केही सहयात्रीहरू जीवनबाट सदाका लागि छुटिसकेको उल्लेख गर्दै उनीहरूको योगदान अमूल्य रहेको बताए। “घर फर्किँदा मसँग केही साथीहरू छुटेका छन्। कोही यहीँ भएर छुटेका छन्, कोही कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन्। उनीहरूको योगदान पार्टी र आन्दोलनका लागि अमूल्य छ,” उनले भने।
पार्टी एकता कुनै स्वार्थ वा सर्तमा आधारित नभएको स्पष्ट पार्दै थापाले वैचारिक एजेन्डाको रक्षा नै एकताको मूल कारण भएको बताए। “यो एकता कुनै स्वार्थ वा सर्तका आधारमा गरिएको होइन। पार्टी अध्यक्ष र वार्ताकारहरू यसबारे जानकार हुनुहुन्छ,” उनले भने, “हामी हतारमा एकता गर्न तयार भएका होइनौँ। हाम्रो एजेन्डा संकटमा छ।”
उनका अनुसार पहिलो, हिन्दू राष्ट्र र राजसंस्थाको विचार संकटमा परेको छ भने दोस्रो, देश भ्रष्ट शासक र संयन्त्रको चंगुलमा परेको छ। “हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डाको रक्षा तथा भ्रष्ट शासक र संयन्त्रबाट देशलाई मुक्त गर्नु नै यो एकताको मुख्य उद्देश्य हो,” थापाले स्पष्ट पारे।












