काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो सातामा बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच यस सम्बन्धमा पुस १४ मा भेट भएको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलका अनुसार, “सरकार राष्ट्रिय सभाको बैठक बस्ने तयारीमा छ । प्रक्रिया अगाडि बढाइरहेका छौं र अधिवेशन यही पुसको तेस्रो वा चौथो सातामा बस्नेछ ।”
राष्ट्रपतिले सरकारको सिफारिसमा अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । अधिवेशन आह्वान गर्दा सामान्यतया एक साताको समय दिने परम्परा छ । मन्त्रिपरिषद् पनि बिहीबार बस्दैछ र उक्त बैठकमा यस विषयमा छलफल हुने सम्भावना छ ।
गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार ढलेको थियो र २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । आन्दोलनको क्रममा नयाँ वानेश्वरस्थित संसद भवनमा आगलागी समेत भएको थियो ।
यसपटक वैकल्पिक रूपमा सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बैठक बस्ने तयारी गरिएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, “हल व्यवस्थापनको काम अन्तर्गत सिभिल वर्क सकिएको छ, अडियो र भिडियो प्रणालीको काम बाँकी छ, छिट्टै सम्पन्न हुनेछ ।”
अधिवेशनमा केही विधेयक, सरकारले ल्याएका अध्यादेश, संसदीय समितिका अध्ययन प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू प्रस्तुत हुनेछन् । सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र सार्वजनिक महत्वका प्रस्तावहरू पनि राख्न सक्नेछन् । साथै, मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम पनि सञ्चालन हुने व्यवस्था छ ।












