काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानीका लागि अहिले उचित समय रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान आर्थिक सूचकहरू सकारात्मक रहेकाले निर्धक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे ।

अर्थमन्त्री खनालले पछिल्लो ‘जेन–जी’ आन्दोलनका कारण निजी क्षेत्रले ठूलो भौतिक तथा आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै त्यसबाट विचलित नभई पुनः उठ्नुपर्नेमा जोड दिए । अहिले मूल्यवृद्धि न्यून रहेको र चालु खाता बचतमा रहेकाले लगानीका लागि वातावरण सहज भएको उनको भनाइ छ ।
निजी क्षेत्रलाई अर्थतन्त्रको ‘इन्जिन’ को संज्ञा दिँदै उनले भने, “निजी क्षेत्रको सम्पत्ति क्षति हुनु भनेको राष्ट्रकै क्षति हुनु हो । हामी खरानीबाट फेरि उठ्छौं भन्दै गर्दा थुप्रै सुधारका कामहरू पनि अघि बढेका छन् । निजी क्षेत्रको महत्त्व र लगानीलाई संरक्षण गर्न राज्य र समाज दुवै सचेत हुनुपर्छ ।”
उनले थपे, “निजी क्षेत्रले गर्ने नाफा राज्यका विभिन्न संयन्त्रमार्फत नागरिकसम्मै पुग्ने गरेको छ । यति हुँदाहुँदै पनि हरेक पटकका नागरिक विद्रोहमा निजी क्षेत्र निशानामा पर्ने गरेको छ । अब मुलुकभित्र हुने लगानीमा क्षति पुग्नु भनेको समग्र राष्ट्रकै पछि पर्नु हो भन्ने कुरा सबैलाई बुझाउन जरुरी छ ।”
मन्त्री खनालले निजी क्षेत्रको आत्मविश्वास बढाउन र देखिएका समस्या समाधान गर्न बृहत् संवादको आवश्यकता रहेको समेत औंल्याएका छन् ।












