Logo
Logo

होलान् त ओली-बालेन आम्नेसाम्ने ?


1.3k
Shares

यो स्तम्भ लेखिरहेको बेला म झापाको निर्वाचन क्षेत्र नम्बर ५ को दमकमा छु । दमक भन्ने बित्तिकै सबैलाई थाहा छ, यो एमाले अध्यक्ष केपी ओलीको गृहनगर हो । यही क्षेत्रबाट उनी २०४८ सालयता २०६४ बाहेकका सबै निर्वाचनमा विजयी भएका छन् । यही क्षेत्रबाट २० वर्ष सांसद भएका ओली चारचोटी प्रधानमन्त्री नै भइसके ।

२४ वर्षसम्म अरू कसैलाई मौका नदिने ओलीले झापा ५ लाई आफ्नो राज्य नै बनाएका छन् । उनलाई यस क्षेत्रका नयाँ राजा भन्दा पनि हुन्छ । यद्यपि, ओली राजा हटाउन १४ वर्ष जेल बसेको माकाफुइँ लगाउँछन् ।

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका उनै ओली यतिबेला देशकै सबैभन्दा ठूलो खलनायकका रूपमा बदनाम छन् । धेरैले उनलाई जेनजी आन्दोलनका क्रममा मारिएका ८६ जनाको हत्यारा पनि भन्छन् । त्यसमा पनि भदौ २३ गते स्कूले ड्रेसमा मारिएका १९ जनाको हत्याका लागि ओली सर्वथा घृणित पात्र हुन् ।

नौ वर्षकी मेरी सानी नातिनीको जाँच सकिएर छुट्टी छ । उनी आफ्ना चारजना साथी जम्मा पारेर आँगनमा ‘जुलुस खेल’ खेल्दैछिन् । उनी हाम्रो टोलकी यो नयाँ खेलकी क्याप्टेन रहिछन् । खेलको नियमअनुसार उनले ‘केपी ओली’ भन्दा उनका साथीहरूले ‘मुर्दावाद’ भन्नुपर्ने रहेछ । त्यसैगरी ‘निर्दोष विद्यार्थीलाई’ भन्दा ‘गोली हान्न पाइन्न’ र ‘जेनजी शहीद’ भन्दा ‘अमर रहुन्’ भन्नुपर्ने रहेछ । उनीहरूले त्यस्तै नारावाजी गरेर जुलुस खेल सुरू गरे ।

छेउमै मञ्च बनाइएको छ । टेबलमा केही फोटा छन् । मञ्चको छेउमा केपी ओलीको पुत्ला छ । उनको घाँटीमा जुत्ताको माला झुण्ड्याइएको छ । अनुहारमा कालो पोतिएको छ ।

खेलको नियममा जुलुस सकिएपछि केपी ओलीको पुत्लालाई एक लात्ती हान्दै मुखमा थुक्नुपर्ने रहेछ । त्यसै गरेर उनीहरू मञ्चमा पुगे । दुईजना मञ्चमा चढे । त्यसमा मेरी नातिनी र एकजना उनको साथी थिए । मेरी नातिनी वक्ता रहिछन् भने उनको साथी उद्घोषक । बाँकी तीनजना तल मुढामा बसे । उनीहरू श्रोता रहेछन् ।

उद्घोषकले वक्तालाई बोलाएपछि मेरी नातिनी बोल्न थालिन् । उनको खास पोइन्ट थियो, ‘यतिबेला झापा– ५ दमक नेपालका कोही पनि मानिसलाई मन पर्दैन । त्यसको कारण यो क्षेत्रका सांसद ओली हुन् । उनले जेनजी साथीहरू मारे । उनी हत्यारा हुन् । उनलाई यहाँका जनताले पटक पटक जिताए । त्यही भएर देशभरका जनता हामीसँग रिसाएका छन् ।‘

उनले अगाडि थपिन्, ‘अबको चुनावमा हामीले ओलीलाई हराउनै पर्छ । त्यसो गरियो भने मात्र जेनजीको आत्माले शान्ति पाउनेछ । ओलीलाई हराएकोमा हामीलाई सबैले स्याबासी दिनेछन् । म मेरो घरमा बुबा–आमा, हजुरबुबा–हजुरआमा सबैलाई ओलीलाई भोट नदिन भन्छु । मान्नु भएन भने खाना नखाई अनसन बस्छु । साथीहरू तिमीहरू पनि त्यसै गर है ।‘

आफूलाई ‘केपी बा’ भनिदिउन् भन्ने चाहना राख्ने केपी ओलीको बारेमा उनकै क्षेत्रका ससाना नानी–बाबुहरू कस्तो सोच्दा रहेछन् कस्तो रहेछ, त्यसैको सजीव चित्र हो यो ।

एक दिन अघि म सिटी चढेर दमक बजार जाँदैथिए । बोल्न मन पराउने फरासिला रहेछन् सिटी चालक । कुरैकुरामा मैले सोधे, ‘यसपटक चुनावमा कसलाई जिताउने हो ?’ उनले भने, ‘ओलीलाई त हराउने नै भनेको तर जित्ने उम्मेदवार नै देखिएको छैन सर ।‘

म जेनजी आन्दोलनपछिका चार महिनामध्ये तीन महिना दमकमै छु । यस बीचमा मैले दमकका सयौ मान्छेलाई भेटेको छु । भेटका क्रममा मैले धेरैजसोलाई यही प्रश्न सोध्दै आएको छु । अपवादलाई छोडेर सबैको एउटै जवाफ हुन्छ, ‘ओलीलाई त हराउने हो तर जिताउने पो कसलाई ?’

यसको सपाट अर्थ हो, झापा ५ मा ओलीलाई हराउने स्थानीय पात्र नै देखिएका छैनन् । निर्वाचन हुन ५५ दिनभन्दा कम समय भइसक्दा पनि जेनजी आन्दोलनका खलनायकलाई हराउने भरपर्दो नायक झापा ५ ले नपाउनु विडम्बना नै हो ।

झापा ५ आफैमा एमालेको खास जनाधार भएको क्षेत्र हो । चार–चारपटक प्रधानमन्त्री भैसकेका र देशकै सबैभन्दा ठूलो जनाधार भएको पार्टी एमालेका अध्यक्ष ओलीले आफ्नो क्षेत्रको विकास निर्माणमा योगदान पनि दिएकै छन् । त्यसले पनि झापा ५ लाई अरू एमालेमय बनाउन सघाएकै छ । त्योभन्दा पनि वृद्ध भत्ता दिने सूर्यछाप हो भन्ने अमिट छाप वृद्ध मतदातामा सूलझै गढेको छ । घरमा बसी बसी तीन महिनामा १२ हजार बुझ्ने उनीहरू सिधै भन्छन्, ‘सूर्यलाई भोट नदिए त पाप लाग्छ ।‘ उनीहरूलाई उम्मेदवार को हो, पार्टी कुन हो मतलव छैन ?, मतलव एउटै छ, वृद्धभत्ता दिने सूर्यछाप ।

यति सबै भएर पनि पछिल्लो समय ओली आफ्नो जीतको लागि कहिल्यै सुनिश्चित हुन सकेनन् । त्यसैले, झापा ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएर झापा ५ मा राप्रपासँग बार्टर गर्दैआए । अझ, यसपटक त राप्रपा पनि पर्याप्त नदेखेर होला, देउवा–कांग्रेससँगै बार्टर गर्ने योजना अगाडि सारेका छन् ।

तर, यति गरेर पनि यसपटक ओलीको खड्गो सजिलै टर्नेवाला देखिँदैन । झापा ५ का जनता जेनजी आन्दोलनका खलनायक ओलीलाई हराउने मुडमा छन् । त्यसका लागि उनीहरूलाई चाहिएको छ, ओली हराउन सक्ने राष्ट्रिय व्यक्तित्व ।

को होला त्यस्तो व्यक्तित्व ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपाको प्रधानमन्त्री उम्मेदवारका रूपमा पार्टीमा भित्रिएका छन् । चमत्कारिक रूपमा काठमाडौंको मेयर जितेर कांग्रेस–एमालेजस्ता ठूला पार्टीलाई चकमा दिएका उनी देशकै पुपुलिष्ट अनुहार हुन् । उनै बालेनले झापा ५ मा केपी ओलीलाई चुनौती दिने समाचार बाहिरिएको छ । बालेन आफैले यस्तो नभने पनि उनको टिमको स्रोतबाट यस्तो समाचार ट्रायल बलुन भएको छ । त्यसो त बालेनको टिम ट्रायल बलुनमा माहिर छ । हुनसक्छ, यो पनि एउटा त्यस्तै ट्रायल बलुन मात्रै हो ।

बालेन र ओलीले यसअघि धेरैपटक एक अर्काविरूद्ध दन्तबजान गरिसकेका छन् । त्यसैले पनि यो सम्भावित भिडन्त रोचक हुन सक्छ । दुवै आआफ्नो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार भएकाले दुबैका लागि जीत आवश्यक मात्र हैन, अपरिहार्य नै हुन्छ । त्यसका लागि दुवैले सुरक्षित क्षेत्रबाट उठ्नुपर्ने हुन्छ । दुवैले त जित्ने कुरै भएन । त्यसैले हार्ने सम्भावना भएको अर्को क्षेत्रमा जानुपर्ने हुन्छ । वा, यी दुवै कुनै अर्को सुरक्षित क्षेत्रबाट पनि उम्मेदवार हुनुपर्ने हुन्छ ।

ओली अर्को क्षेत्रमा सर्नु भनेको एक किसिमले हारको स्वीकारोक्ति हो । त्यसको मनोवैज्ञानिक प्रभाव झापा ५ मा मात्र पर्दैन, समग्र देशकै निर्वाचनको एमाले अंकगणितमा पर्छ । त्यसैले ओली अर्को क्षेत्रमा नसरेर अर्को सुरक्षित क्षेत्रबाट पनि उठ्न सक्छन् । त्यसो गर्नु पनि उनको लागि एक किसिमको प्राविधिक हार नै हुन्छ ।

उता, बालेन पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन लागेकाले उनको आफ्नो कुनै निर्वाचन क्षेत्र छैन । उनको नयाँ पार्टी रास्वपाको पनि सहरी क्षेत्रमा उम्मेदवारको व्यक्तित्वमुखी क्षेत्र मात्रै छ । पार्टीको आफ्नै जनाधर भएको सुरक्षित क्षेत्र छैन । २०७९ मा ‘नो भोट’को रूपमा देशका सात वटा निर्वाचन क्षेत्रमा जितेको थियो । त्यो जीत दोहो¥याउन अहिले नै गाह्रै छ ।

त्यसैले बालेनले कुनै पनि सहरी क्षेत्रबाट उठ्नुपर्ने हुन्छ । उनी आफैँमा एक दुस्साहसी पात्र भएकाले त्यो जुनसुकै क्षेत्र झापा ५ पनि हुन सक्छ । यसो गर्दा बालेनलाई रणनीतिक रूपमा लाभ हुन सक्छ । त्यसको हेक्का उनले नराख्ने कुरै हुँदैन ।

ओली देशकै एक नम्बर खलनायकका रूपमा उनको राजनीतिक जीवनकै सबैभन्दा कठिन चुनाव लडिरहेका छन् । यसबीचमा ओलीले देउवा–कांग्रेसबाहेक सबैलाई शत्रु बनाएका छन् । जेनजी पुस्ता त उनलाई हत्यारो नै भन्छ । त्यति मात्र हैन, आफ्नै पार्टीभित्र पनि गतिलै संख्यामा शत्रु छन् ओलीका । सानै भए पनि यो सङ्ख्या उनलाई हराउन पर्याप्त नहोला भन्न सकिन्न ।

तर, यी सबैका अतिरिक्त पनि झापा ५ मा चुनाव जित्न ओलीलाई जति सजिलो छ, बालेनका लागि त्यति सहज हुँदैन । बालेनको दल रास्वपा ४ वर्षमै जडौरी भैसकेको छ । प्रचण्ड प्रधानमन्त्री भएको बेला दुईदुईपटक उनको गृहमन्त्री भएर ‘अण्डरगार्मेन्ट’ भैसकेका रविको चमक पहिला जस्तो छैन । सहकारी ठगी, संगठित अपराध र अकुत सम्पतिको स्याँगी गर्दनमाथि ठडिएकै छ । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा रविले रास्वपालाई उनको प्राइभेट लिमिटेडबाट माथि उठेर पार्टी बन्नै दिएकै छैनन् । उनी ओलिको नयाँ भेरियन्टका रूपमा बदनाम छन् ।

पछिल्लो समयमा कुलमान घिसिङलाई रास्वपामा प्रवेश गराएर जुन किसिमले अपमानित गरेर गलहत्याइयो, नयाँ खासगरी जनजाति मतदातालाई त्यो पटक्कै मन परेको छैन । एकजना जनजातिको छोरालाई गरिएको यो व्यवहारको प्रभाव जनजाति मत निर्णायक रहेको क्षेत्रमा राम्रैसँग पर्छ । झापा ५ पनि जनजाति मत महत्त्वपूर्ण रहेको क्षेत्र हो । उम्मेदवार हुँदा बालेनले पनि त्यसको मूल्य राम्रैसँग चुकाउनुपर्ने हुन्छ । त्यसो त पछिल्लो समय रास्वपाको छवि नै गणतन्त्र, समावेशीता र संघीयताविरोधी बनेको छ । आगामी चुनावमा रास्वपालाई सबैभन्दा बढी घाटा पार्ने पनि यही छवि हो ।

माघ ६ गते प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने दिन हो । अब त्यो दिन धेरै टाढा छैन । त्यसको एक दिन पहिले माघ ५ गते बालेनले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिने बताइएको छ । त्यसअघि नै उनी झापा ५ पुगेर स्थिति बुझ्ने बताइएको छ ।

जे होस्, बालेन उठ्ने कुराले मात्र पनि झापा ५ को राजनीति तरंगित भएको छ । यसले सबैभन्दा बढी ओलीको कन्पारो तताएको हुनुपर्छ । २०६४ मा केपी ओलीको जुत्ता उठाए पनि चुनाव जित्छ भन्ने ओलीलाई एक गुमनाम पात्र विश्व लिङदेनले धुलो चटाएका थिए । माओवादीको डंका बजेको बेला निकालिएको त्यो जीत निकालिएको थियो । यसपटक जेनजीहरूको डंका बज्ने छाँट देखिदैछ । आयो निदुली ओलीको काल हुन पनि सक्छ ।

हुन त अहिले जेनजीका नेतामा जेलजीको पदार्पण भएको छ । जेल लगाएर कपाल ठाडो बनाउने रवि भर्खरै जेलबाट छुटेका छन् । त्यसैले धेरैले उनै रविलाई जेलजी भनेर ठट्टा गर्ने गर्छन् । कतिपय जेनजीहरू नै जेनजी आन्दोलनको उपलव्धी जेलजीले अपहरण गरेको पनि भन्न थालेका छन् ।

उनै रवि जेलजीले बालेनलाई झापा ५ मा ओलीसँग भिड्न पठाउँदैछन् । यसको पछाडी रविको रणनीतिक चाल पनि हुन सक्छ । बालेनका कतिपय समर्थकहरू नै उनलाई गोलखाडी पठाउन झापा ५ मा पठाउन लागेको पनि भन्दैछन् । आफ्ना लागि सारालाई धोखा दिन माहिर रविले त्यसो नगर्लान् पनि भन्न सकिन्न । भर्खरै एक जनजाति कुलमानलाई धोका दिएका रविले मधेसी बालेनलाई धोका दिन पनि सक्छन् । त्यसको संकेत दिदै कुलमानले मुखै खोले, मैले त धोखा पाएँ, अब धोका पाउने पालो बालेनको ।

बालेन झापा ५ मा उठ्छन् वा उठ्दैनन्, त्यसको छिनोफानो माघ ६ गते भइसक्नेछ । उठे भने उनैले दिन सक्छन्, के पी ओलीलाई ठाडो चुनौती । त्यसका लागि कम्तीमा पनि ओलीविरोधी सबै नयाँहरू एउटै कित्तामा आउनुपर्ने हुन्छ । नत्र, ओलीलाई हराउन सहज छैन । कुरा त जे गरे पनि हुन्छ, आखिर कुराले च्युरा भिज्ने हैन ।

यो स्तम्भ बिट मार्दै गर्दा काठमाडौंमा नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ । कांग्रेस संस्थापनले ठड्याएका सारा तगाराहरू पन्छाएर जारी यो विशेष महाधिवेशन कांग्रेसको जीवनमा त महत्त्वपूर्ण छ नै, यसको असर नेपालका अरू ठूला दल र समग्र राजनीतिमा पनि पर्ने निश्चित छ ।

यो विशेष महाधिवेशन अग्रगमनको पक्षमा उभिएर नेपाली राजनीतिमा पुस्तान्तरण र रूपान्तरणको मुद्दामा पानीढलो बनोस् । चुनौतीको पहाड सम्याएर अवसरको मैदान बनाउन लागेका मित्रद्वय विश्व र गगनलाई अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस्