काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको छ ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समितिको निर्णयसँगै कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाउने संकेत गरेको छ ।
यद्यपि, भृकुटीमण्डपमा विशेष महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम भने यसअघि नै अघि बढिसकेको छ । नियमित र विशेष महाधिवेशनका प्रक्रिया समानान्तर रूपमा अगाडि बढ्दा कांग्रेसको आन्तरिक राजनीतिमा थप चासो र तरंग पैदा भएको छ ।












