Logo
Logo

रक्षाबाट किन फालिए पोखरेल ?


- दृष्टि न्युज/संवाददाता


प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र ईश्वर पोखरेल घटुवा भएका हुन् कि बढुवा भन्ने कुरा नेकपाका आम कार्यकर्ताबीच चर्चाको विषय बनेको छ । धेरैले उनको घटुवा भएको टिप्पणी गरेका छन् भने केहीले उनको बढुवा भएको टिप्पणी गरेका छन् । नेपाली सेनासँग सम्बन्ध बिग्रँदै गएपछि प्रधानमन्त्री ओलीले उनलाई हटाउन बाध्य भएका हुन् । रक्षा मन्त्रालयबाट उनलाई हटाइए पनि उनले सुरुदेखि नै चाहना गरेको अर्थ मन्त्रालयमा उनलाई जिम्मेवारी दिन सकिन्थ्यो । तर, प्रधानमन्त्रीले उनलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी नदिई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कुर्न किन पठाए ? त्यो भने आश्चर्यको विषय बनेको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय मातहत धेरै विभागहरु छन् । तिनीहरुको नियमन, अनुगमन हुनसकेको छैन । त्यसमाथि प्रधानमन्त्री प्रायः बालुवाटारमै बस्छन् । सिंहदरबार खाली नै हुन्छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले हेर्दै आएको काम पोखरेलको जिम्मामा दिँदा राम्रो हुन्छ भनेर जिम्मेवारी दिएको बताइन्छ ।

बालुवाटार स्रोतका अनुसार यसपटकको पुनर्गठनमा उपप्रधानमन्त्री नै नराख्ने सोचमा प्रधानमन्त्री थिए । यसो गर्दा सचिवालयको सन्तुलन बिग्रने डरले उनलाई उपप्रधानमन्त्रीमै सीमित गर्नुपर्ने बाध्यता प्रधानमन्त्रीमाथि आइलाग्यो । यसपटकको पुनर्गठनमा पोखरेललाई मात्र बाहिर राख्दा उनीमाथि विभिन्न आरोप लाग्ला भन्ने सुझाव पनि ओलीलाई निकटका सल्लाहकारहरुले नदिएको होइन । हुन पनि पोखरेलमाथि ओम्नी ठेक्का विवाद, सेनासँगको सम्बन्धमा तिक्तता र फास्ट ट्रयाकको परामर्शदाता छनोटमा पोखरेलको चाहनालगायत सेनाका विभिन्न फाइल अनावश्यक रुपमा रोकेर राखेको आदि आरोप थिए । त्यसमाथि कात्तिक १८ गतेदेखि भारतीय सेनापति मनोजमुुकुन्द नरवाणेको भ्रमण हुँदैछ । सेनासँग सम्बन्ध बिग्रँदै गएपछि रक्षामन्त्रीको रुपमा पोखरेललाई रक्षामा राखिराख्नु उपयुक्त नहुने आँकलन पनि स्वयं प्रधानमन्त्री ओलीले गरेको बालुवाटार स्रोत बताउँछ ।

तत्कालीन नेकपा एमालेका शक्तिशाली महासचिव पोखरेल जसले नवौं महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्षमा जिताए, तिनै व्यक्ति ओली पार्टी अध्यक्ष र शक्तिशाली प्रधानमन्त्री बनेको बेला किन घटुवामा परे आम कार्यकर्ताको चासोको विषय बनेको छ । माओवादीप्रति ओलीभन्दा आक्रामक पोखरेल माओवादीसँग पार्टी एकता भइसकेपछि महासचिवबाट पनि घटुवा भए । नेकपाको एकता महाधिवेशन आगामी चैतमा गर्ने भनिएको छ । नवौं महाधिवेशनदेखि दशौँ एकता महाधिवेशनको पूर्वसन्ध्याबीच पोखरेलले जे जस्तो अपमान सहनुपरेको छ, त्यसले उनको राजनीतिक भविष्य नै समाप्त पार्ने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्