काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेस को विशेष महाधिवेशनलाई मान्यता दिँदै गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमितिलाई पार्टीको आधिकारिक हैसियत प्रदान गरेको छ । यो निर्णय लिनुअघि आयोगले दुवै पक्षबाट प्राप्त कागजातहरू, पार्टीको विधान तथा सम्बन्धित ऐन-कानुनको गहन अध्ययन गरेको थियो ।

विशेष महाधिवेशन पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो, जसले गगन थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो । आयोगले यो वैधानिकता प्रदान गर्ने क्रममा मुख्यतः तीन आधार लाई जोड दिएको छ ।
१.विधानमा रहेको बाध्यात्मक व्यवस्था
पार्टी विधानबमोजिम कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने र सो माग पूरा गर्नुपर्ने स्पष्ट प्रावधान छ। यो व्यवस्थाअनुसार नै विशेष महाधिवेशन आयोजना भएको आयोगले ठहर गरेको छ
२. महाधिवेशन प्रतिनिधिहरूको सर्वोच्चता
विधानअनुसार महाधिवेशन प्रतिनिधिहरू नै पार्टीको सर्वोच्च निर्णयकर्ता तथा प्रतिनिधि मानिन्छन्। उनीहरूको बहुमतले विशेष महाधिवेशन बोलाएर निर्णय गरेको अवस्थामा यो प्रक्रिया वैधानिक हुने आधार आयोगले लिएको छ ।
३. विमति वा विरोध नदेखिनु
विशेष महाधिवेशन माग गर्ने विषयमा कुनै उल्लेख्य विमति वा विरोध नदेखिएको तथा विधानसम्मत प्रक्रिया पूरा भएकोले यो महाधिवेशन पूर्ण रूपमा वैधानिक भएको निष्कर्ष आयोगले निकालेको छ ।
यो निर्णयले नेपाली कांग्रेसभित्रको लामो समयदेखिको आन्तरिक विवादमा महत्त्वपूर्ण मोड ल्याएको छ। दुवै पक्षले आयोगमा आफ्नो दाबी पेस गरे पनि आयोगले विधान र कानुनी आधारमा गगन थापा पक्षलाई मान्यता दिएको हो ।











