बुटवल । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी छोडेका छन् ।

पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीभित्र बढेको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली-बेइज्जतीको संस्कृति, मोलाहिजा र गुटगत राजनीतिसँग असहमत भएकाले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
उनले अब स्वतन्त्र रहने र कुनै पनि राजनीतिक दलमा नलाग्ने बताएका छन् । पौडेलले एमाले सरकारको समयमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । लिला गिरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुँदा उनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।
यसबाहेक, एमाले नेतृत्वको सरकारमा उनी कानुन आयोगको सदस्य पनि बनेका थिए । राजनीतिक यात्रामा उनले तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ रुपन्देहीको अध्यक्ष, एमाले रुपन्देहीको तीन कार्यकाल सचिवालय सदस्य तथा इलाका र क्षेत्रीय कमिटी सदस्यको भूमिका निर्वाह गरेका थिए ।
राजीनामा पत्रमा पौडेलले आफूलाई विभिन्न सरकारी नियुक्तिमा सहयोग पुर्याउने नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल तथा तत्कालीन मुख्यमन्त्री लिला गिरीप्रति आभार व्यक्त गरेका छन् ।











