काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूह अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राख्ने बैठकमा सहभागी नहुने भएको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा आज राखेको बैठकमा सहभागी नेता कोइरालासहित उनीनिकट केन्द्रीय सदस्यहरूले अबदेखि आफूहरू यस्तो छलफलमा सहभागी नहुने जानकारी गराएका हुन् ।
विघटित केन्द्रीय समिति बैठकमा सहभागी हुनुअघि नेता कोइरालाले सम्पर्क कार्यालय विशालनगरमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा कोइरालानिकट नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्नुपर्ने र चुनावमा पनि भाग लिनुपर्ने निष्कर्ष निकालेका थिए । यही निष्कर्ष नेता कोइरालाले सानेपामा बसेको विघटित केन्द्रीय समिति बैठकमा राखेका हुन् ।
कोइरालाले निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्थामा सडक आन्दोलनतिर लाग्नु उचित नहुने बताएका हुन् । उनले अदालत जान सकिने तर, आन्दोलनमा जान नसकिने बताएका हुन् । नेता कोइरालाले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचन सफल पार्नुपर्ने कुरा बैठकमा राखेका थिए ।
विघटित केन्द्रीय समिति बैठकमा सहभागी भएर कुरा राखे पनि नेता कोइरालासहित उनी पक्षका अधिकांश केन्द्रीय सदस्यले निर्णयरउपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिएनन् ।
कोइरालानिकट धेरै विघटित केन्द्रीय सदस्यहरू अबदेखि देउवा समूहले राख्ने छलफलमा सहभागी हुने छैनन् ।निवर्तमान सभापति देउवा पक्षका नेताहरू भने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्नुपर्ने पक्षमा छन् ।











