Logo
Logo

टिकट नपाएपछि रिजालले भने- मालपानीका लागि कसैसँग हात नपसार्नु कमजोरी !


3.8k
Shares

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो टिकट खोसिएकामा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत कार्यकर्ताको रोजाइमा पहिलो भए पनि नेतृत्वको रोजाइमा पर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘यसपटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले)का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको थिएँ,’ उनले भनेका छन्, ‘जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।’

हालै सम्पन्न पार्टीको महाधिवेशनमा पराजित भएका लक्ष्मीप्रसाद पोखरेलले टिकट पाएपछि उनले पोखरेलको अद्भूत क्षमताको प्रशंसा नगरी रहन नसक्ने भन्दै कटाक्ष गरेका छन् ।

उनले भनेका छन्, ‘आफू सात वर्षको हुँदा २०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका अनुभवी लक्ष्मीप्रसाद पोखरेलले फेरि टिकट पाएका छन्, पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्नसक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन ।’

साथै उनले कसैसँग मालपानीका लागि हात नपसार्नु आफ्नो कमजोरी भए यसमा भन्नु केही नभएको बताएका छन् ।
‘कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ,’ उनले भनेका छन् । उनले आफ्ना पक्षमा लाग्नेहरुलाई धन्यवाद र टिकट पाउन नसकेकामा निरास नहुन भन्दै क्षमा मागेका छन् ।

रिजाल दैलेख २ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी थिए । तर, शनिबार बसेको एमाले सचिवालय बैठकले दैलेख २ मा लक्ष्मीराजलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

दैलेख–२ मा क्षेत्रीय कमिटीले मतदानमार्फत् उम्मेदवार सिफारिस गरेको थियो । प्रतिस्पर्धामा ६७ मत ल्याएर रिजाल पहिलो नम्बरमा सिफारिस भएका थिए । टिकट पाउने लक्ष्मीराजले भने ६६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्