
काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि प्रच्यक्षतर्फ चुनाव लड्न भन्दै उनले आज राजीनामा दिएका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले श्रेष्ठले राजीनामा बुझाएको जानकारी दिए ।
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ । श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए । उनले २०७४ गोरखामा चुनाव लडेका थिए ।
त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी २० फागुनमा सकिंदै थियो । एक महिना अगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका हुन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय छ । त्यसको दुई दिन अगाडि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन् ।











