Logo
Logo

ट्रम्पको कब्जा गर्ने धम्कीपछि ग्रीनल्याण्डमा ठुलो प्रदर्शन


630
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड किन्ने वा कब्जा गर्ने बारम्बार धम्की दिएपछि शनिबार ग्रीनल्याण्डको राजधानी नुकमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै ‘ग्रीनल्याण्ड बिक्रीका लागि होइन’ भन्दै नारा लगाएका छन् । उनीहरूले आफ्नो स्वशासन तथा सार्वभौमिकताको समर्थन प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्रबाट अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गर्दै थिए, ठीक त्यही बेला ट्रम्पले फेब्रुअरी १ देखि डेनमार्कसहित आठ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने र जुन १ देखि २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए।  यो कदमले प्रदर्शनकारीहरूमा थप आक्रोश बढाएको छ ।

‘मलाई लागेको थियो आजको दिन यसभन्दा खराब हुन सक्दैन, तर झन् भयो’, स्थानीय युवा मलिक डोलेरुप–शेबेलले भने । उनले ट्रम्पको कदमले अरू राष्ट्र तथा जनताप्रति कुनै संवेदनशीलता नदेखाएको बताए ।

ट्रम्पले विगतदेखि नै खनिज स्रोतले धनी ग्रीनल्याण्डलाई अमेरिकाले किन्नुपर्ने वा ‘एक तरिकाले वा अर्को तरिकाले’ आफ्नो बनाउनुपर्ने धारणा राख्दै आएका छन् । ग्रीनल्याण्ड डेनमार्कको स्वशासित क्षेत्र हो । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई हटाउने कारबाहीपछि उनको अडान अझ कडा बनेको हो । 

२१ वर्षीय डोलेरुप–शेबेल र प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनका अनुसार यो प्रदर्शन नुकको जनसङ्ख्याको करिब एक चौथाइ सहभागी भएको इतिहासकै सबैभन्दा ठूलो हो । डेनमार्कका विभिन्न सहरहरू (कोपनहेगन, आरहुस, आलबोर्ग, ओडेनसे) र क्यानाडाको इनुइट क्षेत्रमा पनि ऐक्यबद्धता प्रदर्शन भएका छन् ।

कोपनहेगनकी एलिस रिचीमहिलाले ‘यो केवल ग्रीनल्याण्डको होइन, सम्पूर्ण विश्वको विषय हो’ भन्दै सानो राष्ट्र बिक्रीमा नहुने स्पष्ट सन्देश दिइन् । नुकका प्रहरी अधिकारी टम ओल्सेनले यो प्रदर्शन आफूले देखेको सबैभन्दा ठूलो भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्