Logo
Logo

चुनाव नलड्ने झलनाथ खनालको घोषणा


819
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले अब नयाँ पुस्तालाई मौका दिनुपर्ने महसूस गरेर चुनाव नलड्ने निर्णयमा पुगेको बताएका छन् । 

त्यस्तै, जेनजी आन्दोलनका क्रममा भएको हमलाले पनि चुनाव लड्ने अवस्था नरहेको खनालले बताएका छन् । खनाल पत्नी राज्यलक्ष्मी चित्रकारमाथि गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा घरमै आक्रमण भएको थियो । घरभित्रै रहेको आगजनी गरिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । उनको भारतमा उपचार भएको थियो । यस्तो अवस्थामा चुनाव लड्न नलड्ने निर्णयमा पुगेको खनालले बताएका छन् ।  

पूर्वप्रधानमन्त्री खनाल इलाम-१ बाट चुनाव लड्दै आएका थिए । गत निर्वाचनमा पराजित भएका थिए । यस पटक पनि इलामका नेता तथा कार्यकर्ताले चुनाव लड्न आग्रह गरेका थिए । 

पारिवारिक अवस्थाले इलाम दौडधुप गर्न गाह्रो हुने भए काठमाडौं-८ बाट चुनाव लड्न नेता तथा कार्यकर्ताले आग्रह गरेका थिए । त्यस्तै, बागलुङ र दैलेखबाट पनि उम्मेदवार बन्न ‘अफर’ आएको थियो । 

विभिन्न ठाउँबाट कार्यकर्ताले ‘अफर’ गरेको भए पनि पारिवारिक तथा अन्य सबै अवस्था हेरेर युवा पुस्तालाई मौका दिनुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ ।

उनी ७५ वर्षका भए । १५ वर्षकै उमेरमा राजनीतिमा लागेका खनाल २०४८ सालमा पहिलो पटक संसदीय चुनाव लडेका थिए । त्यतिवेला उनी इलाम-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

त्यसपछि २०५१ सालमा इलाम-१ बाटै निर्वाचित खनाल २०५६ सालमा पराजित भएका थिए । २०४६ र २०७० सालको संविधान सभा निर्वाचनमा इलाम९१ बाटै निर्वाचित भएका थिए । 

उनी २०७० सालको संविधान सभा निर्वाचनमा सर्लाही-१ बाट पनि उम्मेदवार बनेका थिए। सर्लाहीबाट भने पराजित भएका थिए ।  २०७४ सालमा इलाम-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका खनाल पछिल्लो पटक २०७९ सालको निर्वाचनमा पराजित भएका थिए । 

नेकपा (एमाले)का पूर्व अध्यक्ष खनाल विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा लागेका थिए । अहिले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । नेकपाका वरिष्ठ नेता खनाल २०६७ सालमा प्रधानमन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्