काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिन लागेको जानकारी गराएका हुन् ।

गोरखा-२ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताएका छन् ।
‘गोरखा-२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ’खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ भट्टराईले भनेका छन् ।
गोरखा-२ मा नेकपाबाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, एमालेबाट चक्रे मिलन उम्मेदवार बनेका छन् । नेपाली कांग्रेस र रास्वपाले भने उम्मेदवार तय गरिसकेको छैन ।











